हाँसो र रोदनमा लुकेको स्वास्थ्य



रोहिणी घिमिरे

हाँसो उठ्यो भने खित्का छोडेर हाँस्नुस् र मन दुख्यो भने आँसु झारेर रुनुस् । तपाईंको हाँसोमा लुकेको खुशी स्वास्थ्यको लागि यति धेरै फाइदाजनक हुन्छ कि यसका फाइदा थाहा पाएपछि तपाईं सधैँ हाँस्ने बहानाको खोजी गर्नुहुनेछ । हाँस्नु स्वास्थ्यका लागि जति फाइदाजनक छ, रुनु पनि त्यत्तिकै लाभदायक छ । त्यसैले हाँसौँ–रोऔँ, स्वस्थ बनौँ ।

हाँस्नुका ७ फाइदा

१. रक्तसञ्चारमा सुधार 

युनिभर्सिटी अफ मेरिल्यान्डका अनुसन्धानकर्ताहरूले हाँसो शरीरको रक्तसञ्चारसँग सम्बन्धित रहेको दाबी गरेका छन् । ती अनुसन्धानकर्ताले आफ्नो अध्ययनमा सहभागीहरूलाई दुई समूहमा राखेका थिए । पहिलो समूहलाई हास्य (कमेडी) कार्यक्रम र दोस्रोलाई नाटक देखाइयो । अनुसन्धानले देखायो कि कमेडी कार्यक्रम हेर्ने सहभागीहरू सीधै हाँस्ने हुँदा तिनीहरूको रक्तसञ्चार अरूको तुलनामा राम्रो भएको पाइयो ।

२. रोग–प्रतिरोधात्मक क्षमतामा वृद्धि 

धेरै अनुसन्धानमा यो प्रमाणित भइसकेको छ कि हाँस्दा शरीरको रोग–प्रतिरोधात्मक क्षमता बढ्छ । यसले गर्दा शरीरलाई रोगसँग लड्न मद्दत गर्छ । यस प्रक्रियाको क्रममा शरीरमा एन्टी भाइरल र संक्रमण रोक्ने कोशिकाहरू बढ्छन्, जसले इम्युनिटी पावर बढाउँछ ।

३. दुखाइको पीडामा कमी 

स्पोन्डिलाइटिस (spondylitis) वा ढाड दुख्नेजस्ता असहनीय दुखाइमा आराम गर्नका लागि हाँस्नु प्रभावकारी विकल्प हो भन्ने अनुसन्धानहरूमा पाइन्छ । यस्ता रोगका बिरामीलाई लाफिङ थेरापीको सहायताले आराम दिन सकिने बताइन्छ । यति मात्र होइन, १० मिनेट हाँस्दा दुखाइबाट मुक्ति पाउन वा दुई घण्टा सुत्न सकिन्छ ।

४. सकारात्मकताको विकास 

हाँस्ने क्रममा शरीरमा एन्डोर्फिन नामक हर्मोन उत्पादन हुन्छ, जसले सम्पूर्ण शरीरलाई सुखद अनुभूति एवं सकारात्मकताले भरिदिन्छ । यो हर्मोनले मुडलाई रिफ्रेस गर्न वा ताजा बनाउन मद्दत गर्छ ।

५. ऊर्जा प्राप्ति 

लोयड जर्नलमा प्रकाशित अनुसन्धानले हाँस्ने क्रममा गहिरो सास लिने र फ्याँक्ने व्यायाम हुने गरेको देखाएको छ । यसका कारण शरीरमा अक्सिजन प्रवाह हुन्छ । जसले गर्दा तपाईं लामो समयसम्म ताजा र ऊर्जावान् रहन सक्नुहुन्छ ।

६. एन्टी–एजिङमा सहयोग 

धेरै हाँस्ने मानिसहरु लामो समयसम्म जवान देखिने गर्दछन् । हाँस्दा अनुहारको मांसपेशीहरुको व्यायाम हुन्छ । यसले गर्दा अनुहारमा चाँडो चाउरी पर्दैन । त्यसैले एन्टी एजिङ प्रोडक्टमा पैसा खर्च गर्नुको सट्टा हाँस्दै आफूलाई जवान राख्नुहोस् ।

७. तनावमा कमी 

खुलेर हाँस्दा सबै तनाव बाहिर निस्कन्छ, जसका कारण तपाईं पूर्णतया आराममा रहन सक्नुहुन्छ । तनावका कारण हुने मानसिक तथा शारीरिक समस्याबाट बच्नको लागि तपाईंको हाँसो महत्वपूर्ण हुन्छ ।

रुनुका ७ फाइदा

जब हाम्रो मन दुःखी हुन्छ तब हामीलाई रुन आउँछ । त्यस्ता दुःखी भावनालाई बाहिर निकाल्ने उपाय हो आँसु झारेर रुने । रोएपछि शरीर हल्का भएको महसुस हुन्छ । तर धेरैले रुनु कमजोरीको लक्षण हो भनी दबाएर राख्ने कोशिश गर्छन् । यसरी आफ्नो मनको उद्वेग मनभित्रै दबाएर राख्दा झन् तनाव बढ्न सक्छ । त्यसैले आँसु खसालेर रुनु नै लाभदायक हुन्छ ।

१. तनाव कम गर्छ 

जब तपाईंमा तनाव धेरै हुन्छ, तब रुन आउँछ । त्यस अवस्थामा एकपटक रुनुभयो भने केही हदसम्म तपाईं तनावबाट मुक्त हुन सक्नुहुन्छ । त्यसपछि तपाईं पहिले भन्दा धेरै आराम महसुस गर्न सक्नुहुन्छ । तनावयुक्त अवस्थामा तपाईंको आँसुमा तनाव हर्मोनको मात्रा धेरै हुन्छ । यदि तपाईंले त्यस्तो आँसुलाई बाहिर निकाल्नुभयो भने उल्लेख्य मात्रामा तनाव कम गर्न मद्दत पुग्छ ।

२. आँखा स्वस्थ हुन्छ 

आँसुले तपाईंको आँखालाई हानि पु-याउने सबै कुरासँग लड्छ । जब तपाईं रुनुहुन्छ, तपाईंको आँखाबाट सबै फोहोर निस्कन्छ । जसले गर्दा आँखा स्वस्थ रहन मद्दत पुग्छ ।

३. आँखा सुख्खा हुनबाट जोगाउँछ 

यदि तपाईंको आँखाबाट आँसु आउन सकेन भने आँखा सुख्खा हुने समस्या हुन्छ तर तपाईं रुनुहुन्छ भने आँखा सुख्खा हुँदैन । रुँदा बेसल आँसु निस्कन्छ, जुन तपाईंको आँखाको सुरक्षाको रूपमा काम गर्दछ ।

४. मूड तुरुन्तै सुधार हुन्छ 

याद गर्नुस् कि रुनेबित्तिकै तपाईंको मूड राम्रो हुन्छ । यसको पछाडिको कारण यो हो कि तपाईंभित्र जम्मा भएको तनाव र क्रोध बाहिर निस्कन्छ, जसको कारण तपाईंको दिमाग हल्का हुन्छ र तपाईं खुशी महसुस गर्नुहुन्छ ।

५. सम्बन्ध बलियो हुन्छ 

जब तपाईं कसैको अगाडि रुनुहुन्छ भने यसले तपाईं र उनीहरूबीचको सम्बन्धलाई बलियो बनाउँछ । साथै जसका अगाडि रुनुहुन्छ ऊ विशेष व्यक्ति रहेछ भने उसले तपाईंलाई रुन रोक्नको लागि सक्दो प्रयास गर्छ । यसले गर्दा ऊसँगको सम्बन्ध झनै राम्रो हुन्छ ।

६. मानसिक रोगबाट बच्न सहयोग 

जब तपाईं रुनुहुन्छ, रोएपछि तपाईंको मानसिक अवस्था एकदम सामान्य हुन्छ । मूड पनि सामान्य बन्छ । यसो गर्नाले धेरै मानसिक समस्याबाट बच्न सकिन्छ । त्यसैले आफूभित्र केही नकारात्मक महसुस हुँदा रिसाउनुको सट्टा रोइदिनुस् ।

७. पीडा कम गर्छ

रुँदा अक्सिटोसिन नामक हर्मोन निस्कन्छ, जसले पीडा कम गर्छ । लामो समयसम्म रोएपछि कहिलेकाहीँ अर्धबेहोस भएको महसुस हुन सक्छ । यस महसुसले पनि पीडा कम हुन मद्दत पुग्छ ।

नोट : आँसु तीन प्रकारको हुन्छ– बेसल (Basal), भावनात्मक र अनैच्छिक आँसु । बेसल आँसुमा ९५ प्रतिशत पानी हुन्छ र यसले आँखालाई चिप्लो गराउँछ । भावनात्मकरूपमा तनावग्रस्त हुँदा भने भावनात्मक आँसु निस्कन्छ । यसमा विषाक्त पदार्थ र तनावयुक्त हार्मोनहरू हुन्छन् । त्यस्तै अनैच्छिक आँसु धुवाँ, धूलो वा कुनै बाहिरी कणबाट हाम्रो आँखालाई जोगाउनका लागि निस्कन्छ ।

स्रोत : www.amarujala.com, www.onlymyhealth.com

प्रतिक्रिया दिनुहोस्