‘लभ यु’ केपी बा !



  • विनोद पौडेल

कुनै बेला भारतका चर्चित अभिनेता देवानन्द निकै परिचित अभिनेताका रुपमा चिनिन्थे । उसको प्रशंसा नेपाली दर्शकले समेत गर्ने गर्दथे । उनको चर्चा आजसम्म पनि चलिरहेको छ । देवानन्द कुनै कार्यक्रममा होस् या सडक हिँडिरहँदा, या त सुटिङकै समयमा किन नहोस्, विशेष गरी उनका महिला फ्यानहरु उनलाई पिछा नगरेको शायदै होस् । उनीसँग अटोग्राफ लिन होस् या प्रत्यक्ष देख्न र भेट्न पाउँदा फ्यानको खुशीको सीमा नै हुँदैनथ्यो रे ! सुन्नमा त केसम्म पनि सुनियो भने, उनको सौन्दर्यलाई देखेर महिलाहरुले घरका बरण्डाबाटै हामफाल्ने समेत गर्थे रे, उनको सौन्दर्य र स्टाइल देखेर । यसको सत्यताको गहिराइमा नजाऊँ, अहिले यति मात्र भनौं कि त्यो समयमा हावा नचली पक्कै पात हल्लिएन होला ।

देवानन्दको प्रसंग यहाँ किन जोडियो भन्दा, ठ्याक्कै फिल्मी अभिनेता देवानन्दको जस्तै पात्र नेपाली राजनीतिक वृत्तभित्र छन्, उनी हुन् केपी ‘बा’ अर्थात् केपी शर्मा ओली । उनलाई पनि देवानन्दका फ्यानले घेरेझैँ उनका कार्यकर्ताले घेर्छन् । उनका नेता, कार्यकर्ता, शुभेच्छुकहरुले उनलाई मायाले भनौं या सद्भावले आदर गर्दै केपी ‘बा’ भन्ने गर्छन्, कोही–कोहीले त ‘हजुरबा’ समेत पनि भन्ने गर्छन् रे ! हुन त यो ‘बा’ आदर नेपाली संस्कारअनुसार नै हो, आफूभन्दा पाका उमेरकालाई ‘बा’ या त हजुरबा भनेर नै सम्बोधन गरिन्छ । उनी राष्ट्रिय ‘बा’ नै बनिसकेका छन् । उमेरले ७० वर्ष नाघेका, दुवै मिर्गौला फेरेका केपी ‘बा’ शारीरिक रुपमा तन्दुरुस्त नै देखिन्छन् र छन् पनि उस्तै ।

एमालेको दशौं महाधिवेशन सम्पन्न भइसकेको छ । चितवनको नारायणी किनारमा मंसिर १० गतेदेखि १२ गतेसम्म गरिने भनिए पनि केही दिन लम्बिएको थियो । दशौं महाधिवेशनबाट पनि केपी ‘बा’ ले नै पार्टीको अध्यक्ष पदको निरन्तरता पाएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले केही मत प्राप्त गरे भने बाँकी मतजति केपी ‘बा’ले आफ्नै कुम्लोमा जबर्जस्ती पार्न सके । अलिकति निर्वाचनको प्रसंगसमेत जोडौं कि ! उनले प्रतिनिधिलाई कस–कसलाई भोट हाल्ने अनि नहाल्ने भनी लिस्ट नै बाँडेर निर्वाचनको नलौ अभ्यास सुचारु गरे । परिणाम पनि आफैँ अनुरुप बनाए । निर्वाचनमा समूह नबनाउने घोषणा गरेका केपी ‘बा’ले पछि आफैंले समूह बनाउँदै अगाडि बढे ।

प्रसंग देवानन्दसँगै जोडौँ, जसरी देवानन्दलाई आफ्ना फ्यानले घेर्छन् त्यस्तै केपी बालाई पनि उनका कार्यकर्ताले घेर्छन् । महाधिवेशनमा आफ्ना कार्यकर्ताले ‘आई लभ यु केपी बा’ ‘वी लभ यु केपी बा’ भन्दै चर्को नाराबाजी लगाउँछन् । ओली ‘बा’ यसैमा दंग पर्छन् । हुन त केपी ‘बा’ आफ्नै प्रचार रुचाउने नेता हुन् । ‘आई लभ यु केपी बा’ भन्दै नाराबाजी गरेको महाधिवेशनमै पहिलो पटक भने होइन, उनका फ्यानहरुले प्रायजसो घेरिरहेका हुन्छन् । उनी सत्तामा हुन् या नहुन् तर पार्टी र सत्ताभन्दा पनि आफ्नै प्रचारमा भने उनी कुनै कमी राख्दैनन् । उनका प्रचारका शैली फेरिन्छन् तर प्रचार भने घटाउँदैनन् ।

सत्ताबाट बाहिरिँदाको तडकभडक :
उनलाई प्रधानमन्त्रीको पदबाट बाहिरिँदा पनि आफ्ना कार्यकर्ताले उनका पक्षको नाराबाजी गरेका थिए । प्रधानमन्त्रीबाट बाहिरिँदा ओलीलाई बालुवाटारबाट बालकोटसम्म पुर्याउन, राजकीय सम्मानका साथ उनका कार्यकर्ताले नयाँ बुहारीझैँ बालकोटको घरमा भित्र्याएका थिए । सम्मान र प्रचारका भोका केपी ओली, उनका समर्थकले मोटरसाइल तथा गाडीको स्कर्टिङमा बालुवाटार छोडेर आफ्नै निवास बालकोटसम्म पुर्याएका थिए । तिनै ओलीले बालकोटको घरको बार्दलीबाट, चर्चित सेलिब्रेटीले देवानन्दको झैँ स्टाइलमा हात हल्लाएर आफ्ना फ्यानहरु (कार्यकर्ता) लाई सम्बोधनसम्म गर्न भ्याए । उनका कार्यकर्ताले मायालु भारमा शुभेक्षासहितको नाराबाजी गरे । त्यस्ता कार्य उनले चर्चा कमाउनकै लागि गरेका थिए ।

पदबाट बाहिरिँदा पनि आफ्नो प्रचारमा भने कुनै कसुर बाँकी नराखी भाडाकै भए पनि कार्यकर्ता उताररे आफू कमजोर नभएको महसुस उनले विपक्षी पार्टीलाई गराएका थिए । उनी पदबाट निस्किँदा पनि कति शक्तिशाली रहेका छन् भन्ने कुराको प्रचार मात्र थियो । यद्यपि कम्युनिस्टका नेतालाई त्यो आवश्यक थिएन । तर उनी आवश्यक थिएन भन्ने कुरामा सहमत भने विल्कुलै राख्दैनन् । बालकोटमा ‘आई लभ यु केपी बा’ भन्दै कार्यकर्ता बुरुकबुरुक उफ्रिएका थिए ।

नयाँ युगको शुरुवात चर्तिकला :
यति मात्र होइन, केपी शर्मा ओली आफ्नो प्रचार आफैँ गराउन रुचाउने व्यक्ति हुन् । जुन उनका विगतका प्रचारका अभ्यासले स्पष्ट पार्दछ । उनले पचारका नाममा के मात्र गरेका छैनन् र ? कुनै दिन नयाँ युगको शुरुवात भन्दै तत्कालीन प्रधानमन्त्री भएको समयमा के–के न गर्छु जस्तै ठानेर काठमाडौंका सडक–सडकका पोलमा उनका टाउकाको पोस्टर झुन्ड्याइए । हरेक पोल, पत्रपत्रिका, टेलिभिजन, अनलाइनमा उनको टाउको देखियो । यसरी चोक, गल्लीमा समेत उनको टाउको अंकित पोस्टर टाँसेर नयाँ युगको शुरुवात भनियो । यस कार्यमा करोडौं रकम स्वाहा पारेर ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बाढ्दै हिँडे । लाग्छ, आजको यो दिनको अवस्था देखाउन नयाँ युगको शुरुवात गरेका थिए ।

असाध्यै आफ्नो प्रचार गर्न रुचाउने ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा विभिन्न तामझामपूर्ण कामसमेत गरे । उनी जहाँ जे गर्छन्, त्यो नै समाचार बन्छ । त्यो पनि प्रमुख प्राथमिकता साथ, त्यस कारण पनि उनलाई हौसला प्राप्त भएको मान्न सकिन्छ । मैले जे गरे पनि मलाई जनताले विश्वास गरेका छन्, म नै जनताको प्रिय नेता हुँ भन्ने दम्भ उनमा पलाएको छ । सत्ता र शक्तिमा रमाउन चाहिरहने नेता ओली दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा चुनिएका छन् । यति मात्र होइन, उनले आफू अनुकूलको पदाधिकारीसमेत कमाएका छन् । अनि आफू निकट कार्यकर्ताले किन नभनून् त ‘आई लभ यु केपी बा’ ।

विधान महाधिवेशनको तामझाम :
गत असोज महिनामा एमालले विधान महाधिवेशन निकै तामझामका साथ सम्पन्न गर्यो । विषेश सेवा सुविधा, आवास, खानाको व्यवस्था गरेर प्रतिनिधि एवं कार्यकर्ता भेला गरेका थिए । यसमा पनि ओलीकै प्रचार मात्र । एमाले भनेकै ओली हो भन्नसमेत भ्याइसकेका छन् विश्लेषकहरुले, उनका व्यवहारले समेत त्यस्तै गरेको देखिन्छ । कुनै कार्यक्रम भयो भने ओलीकै प्रचार मात्र हुन्छ । तर कति आवश्यकता छ, त्यसको ख्याल पनि गर्ने हो कि ? महाधिवेशनमा गोदावरीसम्मको यात्राको ओलीको तामझाम देख्दा लाग्छ, राजा–महाराजाको सम्मानझैँ सम्मानका चाहन्छन् केपी ‘बा’ । तत्कालीन विधान महाधिवेशनका बेलामा एमालेका संस्थापक नेताका रुपमा पुष्पलाललगायतका नेताहरुको समेत स्मरण गरिएन । कार्यक्रम स्थलको मुख्य मञ्चमा पुष्पलाल, मदन र मनमोहनको तस्वीरसहितको बोर्ड अटाउन सकेन ।

उनले आफ्नो प्रचारका विभिन्न हत्कन्डा अपनाएका थिए । लाग्छ, उनी यस्ता कार्यमा कति माहिर छन् । एमालेको विधान महाधिवेशनमा ओलीको पूर्ण कदको डमी प्रमुख आकर्षक थियो । जहाँ प्रतिनिधिहरु फोटो खिच्न तँछाड–मछाड गरिरहेका थिए । यति मात्र होइन, त्यहाँ उपस्थित सम्पूर्ण प्रतिनिधिका लागि खानेपानीमा समेत ओलीको फोटोसहितको स्टिकर टाँसिएको थियो । यतिसम्म ओलीले, ओलीकै प्रचार गरेका थिए कि जहाँ–जहाँ उनको व्यक्तिगत प्रचार गर्न मिल्न सकिने सम्भावना छ त्यहीँ–त्यही आफ्नै मात्र प्रचार गरेका थिए । यसकारण उनले आफूले आफैँलाई भगवान् ठानेका छन् । पार्टीको भन्दा पनि आफ्नै प्रचारमा विषेश ध्यान दिएका छन्, एमालेका संस्थापक नेताहरुको भने प्रचारमा महत्व ठानेनन् र आफ्नै व्यक्तित्व झल्काउने प्रचार गरे । शहरका अधिकांश पोलहरुमा ओलीका टाउका अंकित पोस्टर झुन्डिएका थिए, महाधिवेशन स्थलसम्म पुग्ने सडकहरुमा सडक–बोर्ड, गेट भव्यरुपमा बनाइएका थिए । ओलीका बडेमानका डमीहरु बनाइएका थिए, जहाँ उपस्थित प्रतिनिधिहरु फोटो खिच्न कुरेर बसेका थिए ।

दशौं महाधिवेशनको तामझाम :
चितवनको नारायणी नदी किनारामा महाधिवेशन स्थल भव्यरुपमा सिँगारिएको थियो । ५ लाख हाराहारी जनमानस अटाउन सक्ने महाधिवेशन स्थल, जसमा एमाले स्टेज डिजाइन, डाक्टर परिचालन, व्यापक रुपमा स्वयंसेवक परिचालन, महाधिवेशन स्थलमा ड्रोन परिचालनलगायतका कार्यको चर्चा–परिचर्चा चुलिँदै गएको थियो । यसको प्रचारप्रसारमा एमालेले कुनै कसर बाँकी राखेको थिएन । महाधिवेशन प्रचारभन्दा पनि त्यहाँ ओलीकै प्रचार बढी रह्यो । एमालेले करोडौं रुपियाँ खर्चेर महाधिवेशन गरेको थियो । यक्तिको व्यवस्थापन गर्न सर्वहारा जनताको पार्टीसँग यति धेरै पैसा कहाँबाट आयो होला ? प्रश्न उठ्नु स्वाभाविक नै हो । नारायणी किनारको महाधिवेन स्थलमा उपस्थितहरुका लागि मनोरञ्जनका निम्ति सेल्फी स्टेसनसमेत बनाइएको थियो ।

ओलीको चितवनसँग निकै आत्मीयता बढ्दै गइरहेको छ । किनकि चितवन प्रचण्डको जिल्ला, रामको जन्मस्थल हो भनी घोषणा गरेको जिल्ला, त्यही चितवनको नारायणी नदीमा ओलीले पानीजहाज चलाउने भनेर घोषणा गरेको जिल्ला, त्यसैले ओलीलाई चितवनसँग लगाव बसेको हुनुपर्छ । गर्न नसक्ने अनि आश्वासन मात्र बाँडी हिँड्ने ओलीलाई आफ्ना कार्यकर्ताले कुन अर्थमा ‘आई लभ यु केपी बा’ भन्दै नाराबाजी गरिरहेका छन् ? हे युवा हो, अलि सोचेर पो नाराबाजी गर्ने हो कि ? बिचरा युवाको मात्र के दोष, स्वस्फूर्तरुपमा केपी ओलीलाई ‘आई लभ यु केपी बा’, ‘वी लभ यु केपी बा’ भनेर भनिएको थिएन । त्यो त केपी बाका खास–खास कार्यकर्ताको झुन्डलाई घोकाउन लगाइएको थियो । जुन कार्यकर्तालाई ‘लभ यु केपी बा’ भनेर किन भनिएको भन्नेसम्म पनि थाहा छैन । उनीहरुलाई निर्देशन दिइयो, त्यसै बमोजिमको रटानलाई चिच्याउन लगाइयो । यो केपी ओलीको आत्मसन्तुष्टिको लागि मात्र थियो । चितवनको नरायणी नदीकिनारमा दशौं महाधिवेशन सम्पन्न भयो । तर न नरायणीमा पानीजहाज चलाउने कार्य सम्पन्न भएर ‘लभ यु केपी बा’ भनिएको हो, न घर–घरमा ग्यासका पाइप जोडिएको हुनाले ‘लभ यु केपी बा’ भनिएको हो । न रोजगार, शिक्षा, स्वास्थ्यको सुनिश्चितता भएर नै ‘लभ यु केपी बा’ भनिएको हो । यो त एउटा सुगा रटाइ मात्र थियो । यो राजनेता र कार्यकर्ता भनेको ‘जसो–जसो बाहुन बा उसो–उसो स्वाहा’ भनेजस्तै पो हो कि !

[email protected]

प्रतिक्रिया दिनुहोस्