गण्डकीका लोकसंस्कृति र साहित्य सङ्गोष्ठी सम्पन्न



काठमाडौं ।

पोखराको बाटुलेचौरस्थित जनकवि केशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्कृति र साहित्य विभागसँगको सहकार्यमा जनकवि केशरी धर्मराज–सावित्री थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो ।

पञ्चेबाजा र नृत्यसहितको सांस्कृतिक झाँकीले स्वागत गर्दै अतिथिलाई कार्यक्रम स्थलसम्म पु¥याएपछि प्रमुख अतिथिलगायतका अतिथिले जनकवि केशरी धर्मराज थापा सङ्ग्रहालय अवलोकन गर्नुभएको थियो भने प्रमुख अतिथि कुलपति उप्रेतीले पानसमा दीप प्रज्वलन र जनकवि केशरीको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
उद्घाटनका क्रममा कुलपति उप्रेतीले यो कार्यक्रम लोकसाहित्य र संस्कृतिको महोत्सव नै भएको विचार व्यक्त गर्नुभएको थियो । दुई दिने कार्यक्रममा प्रस्तुत कविता, गीत, गजल र विविध सांस्कृतिक झाँकीहरूले धर्मराज थापालाई खोजी गरिएको र पूर्ण रूपमा प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘जनकवि केशरी नेपाल प्रज्ञा–प्रतिष्ठानको अभिभावक हुनुहुन्थ्यो । उहाँको भौतिकरूपमा अवसान भए पनि यसपटक बाटुलेचौरमा आइपुग्दा उहाँलाई सशरीर भेटेको अनुभूति भइरहेको छ । धर्मराज थापालाई शिरमा राखेर हामी एउटा विचार गोष्ठी गर्नका लागि यहाँ आएका थियौँ तर लोकसंस्कृति र लोकसाहित्यको मनोत्सव सम्पन्न गरी फर्कंदैछौँ । यो यसपटकको सबैभन्दा ठूलो उपलब्धि हो ।’

कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङले गण्डकी प्रस्रवण क्षेत्रको भौगोलिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका बारेमा विशेष प्रवचन प्रस्तुत गर्नुभएको थियो भने प्राज्ञ डा. देवी नेपालले विभागीय मन्तव्य राख्ने क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले हालसम्म सम्पन्न गरेका कामहरूका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । यस क्रममा उहाँले प्रथम विश्वयुद्धमा जर्मनी पुगेर बन्दी बनेका गोर्खाली सेनाहरूको १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई ल्याएर प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको र त्यसमा कास्की, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, गोरखा आदि क्षेत्रका दर्जनौं गोर्खाली सेनाका लोकसामग्रीहरू समेटिएको हुनाले तिनका सन्तानलाई खोजी गरिदिनका लागि आह्वानसमेत गर्नुभयो । उहाँले आगामी दिनमा प्रज्ञा–प्रतिष्ठानले यस्तै ऐतिहासिक सामग्रीको खोजी, सङ्कलन, संरक्षण र संवद्र्धनमा विशेष ध्यान दिएर अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रदेश प्रज्ञा–प्रतिष्ठानले सहकार्यमा गर्नुपर्ने कामका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख प्रा.डा.कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशमा प्रचलित लोकगीत, गाथा र लोकसङ्गीतको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै हाम्रा लोकसम्पदाहरू दिनदिनै लोप हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो भने युवा समालोचक तर्कना शर्माले ‘गण्डकी प्रस्रवण क्षेत्रका भौतिक लोकसंस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै खोजी गर्न थाल्ने हो भने वर्षौंसम्ममा पनि खोजेर नसकिने लोकसम्पदाहरू यस क्षेत्रमा रहेको विचार व्यक्त गर्नुभएको थियो । तर्कनाको कार्यमाथि डा. लक्ष्मीशरण उपाध्यायले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्