कालीगण्डकी करिडोरको पर्वत खण्ड स्तरोउन्नति हुँदै

0
Shares

पर्वत ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत तथा स्याङ्जा खण्डमा स्तरउन्नति र ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ । करिब २ वर्षसम्म सुस्त अवस्थामा रहेको कालीगण्डकी करिडोरको पर्वत–स्याङ्जा खण्डमा निर्माण कार्यले अहिले गति लिएको हो ।

उत्तर दक्षिण कालीगण्डकी करिडोर गैंडाकोट–मालढुंगा आयोजनाले दिएको जानकारी अनुसार पर्वतको सदरमुकाम कुस्मादेखि स्याङ्जाको मिर्मीसम्मकोे करिब ५४ किमी सडक खण्डअन्तर्गत कालोपत्रे र ट्रयाक खोल्ने तथा ग्राभेलस्तरमा स्तरोउन्नतिको काम धमाधम भइरहेको छ ।

करिडोरअन्तर्गत स्याङ्जाको मिर्मीदेखि पर्वतको सिमाना सेतीबेणीसम्म १० किलोमिटर सडक कालोपत्रेस्तरमा स्तरोन्नतिको काम भइरहेको छ भने सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म ७ किलोमिटर सडक कालोपत्रे गर्ने काम ६४ प्रतिशतभन्दा बढी सकिएको छ । मिर्मी र सेतीबेणीको बीचमा भीरमा कडा चट्टान फोड्न विस्फोटनको तयारी समेत छ । पर्वतको रानीपानीदेखि फलेबाससम्मको २२ किलोमिटर सडकमा पनि अहिले कालोपत्रे गर्नका लागि धमाधम काम भइरहेको आयोजना कार्यालयका इन्जिनियर सरोज ढकालले जानकारी दिनुभयो । रानीपानीदेखि फलेबाससम्मको सडकको प्रगति पनि २० प्रतिशतभन्दा बढी छ । फलेबासदेखि अर्मादीसम्मको १४ किलोमिटर सडकको मोदीबेणी सडकमा करिब १ सय मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ ।

लामो समयसम्म ठेकेदार कम्पनीले काम नगरेका कारण यो खण्ड पूरा भएको छैन । गएको चैतमा सुख्खा पहिरोमो डोजर चालकको पहिरोमा परेर मृत्यु भएपछि रोकिएको काम शुरू गर्न ठेकेदारलाई कारबाही गरी नयाँ प्रक्रिया शुरु गर्न थालिएको करिडोर आयोजना कार्यालयले जनाएको छ ।

त्यस्तै, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर आयोजना कार्यालयको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थलगत अवलोकन गर्नुभएको छ । पर्वत जिल्लाको मेरुदण्डका रूपमा रहेको सडकलाई समयमा पूरा गर्न अध्यक्ष तिमिल्सिनाले बजेट विनियोजनदेखि निर्माण कार्यलाई गति दिन निरन्तर अनुगमन गर्दै आउनुभएको छ । यसपटक करिडोरको सेतीबेणीदेखि मिर्मी खण्डमा चट्टान फोड्न देखिएको समस्या समाधानका लागि पहल गरिने उहाँले बताउनुभयो ।

‘विस्फोटनका लागि देखिएको प्राविधिक समस्या समाधान गरेर कामलाई गति दिन निर्देशन तथा आवश्यक समन्वय गर्ने काम भएको छ’, स्थलगत निरीक्षणका लागि पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो– ‘नेपालको धार्मिक तथा पर्यटन र विकासका लागि समेत महत्वपूर्ण राजमार्ग भएकाले यसलाई समयमा सम्पन्न गर्नका लागि सबैले उत्तिकै सजग भएर काम गर्न जरुरी छ ।’

गण्डकी र लुम्बिनी प्रदेश हुँदै ९ वटा जिल्ला तथा उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रूपमा यो सडकलाई हेरिएको छ । पर्वतलाई चीनसँग जोड्न कालीगण्डकी लोकमार्गको निर्माण कार्य पूरा गरी सरकारले नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चीनबाट आयात गर्न सकिने छ ।