कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेविसंघ निस्क्रिय



काठमाडौं ।

नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वविहीन भएका छन् । केन्द्रीय समितिले तोकेको तदर्थ समितिको भरमा चलेको नेविसंघ र चार नेताको भरमा चलेको तरुण दल मात्र हैन कांग्रेसका प्रायः सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्था लथालिंग अवस्थामा चलेका छन् ।

पाँच वर्षअघि पोखरा अघिवेशनमा आफूले चाहेको व्यक्ति नेतृत्वमा नआउने पक्का भएपछि तत्कालीन अवस्थामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले सहमति गरी तरुणदलको चार पदाधिकारी छानेका थिए । तरुणदलको महाधिवेशनमा अध्यक्षमा सभापति देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता सिटौला पक्षका उत्तम चापागार्इं, महासचिवमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षका भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विधान गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्य पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका थिए ।

महाधिवेशनबाट चुनिएको पदाधिकारीको अवधि चार वर्ष भए पनि पाँच वर्षसम्म चार नेताको भरमा तरुणदल चलिरहेको छ । कार्यसमितिको बाँकी सदस्य अझै चुनिएको छैन । ‘स्थानीय, प्रदेश र संघीय निर्वाचन नजिकिँदै छ, पार्टीको सशक्त भ्रातृ संगठनलाई वडादेखि केन्द्रसम्म मजबुत बनाउनुपर्छ’ तरुणदलका उपाध्यक्ष उत्तम चापागार्इं भन्नुहुन्छ– ‘तरुण दल, नेविसंघ मात्र हैन निर्वाचनलाई केन्द्रित गरेर सबै भ्रातृ एवं शुभेच्छुक संघसंगठनलाई चलायमान बनाउन पार्टी नेतृत्वले ढिलाइ गर्नुहुँदैन ।’

कांग्रेसभित्र रहेका चरम गुटलाई मिलाउन तरुणदलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको थियो । पोखरा अधिवेशनमा तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासी जनजाति मधेसबाट चार/चार जना, दलित अल्पसंख्यकबाट तीन/तीन जना तथा थारू मुस्लिमबाट एक/एक जना निर्वाचित हुनुपर्ने थियो । संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको थियो ।

पोखरा अघिवेशन अघि तत्कालीन अवस्थामा विभाजित दुई कांग्रेस एकीकरण भएपछि छ महिनाका लागि गठन गरिएको तरुण दलको तदर्थ कार्यसमिति १४ वर्ष त्यत्तिकै चलेको थियो । अब फेरि अधिवेशन गर्ने तयारीमा जुट्ने बेलासम्म कार्यसमितिले पूर्णता नपाएर निराश भएका तरुण दलका कार्यकर्ताहरू भएका चार नेता पनि विभाजित भएपछि चिन्तित रहेको बताउँछन् ।

कांग्रेस विधानमा माथिल्लो तहमा निर्वाचित भएपछि तल्लो तहको पद स्वतः खारेज हुने व्यवस्था रहेको भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिना भन्नुहुन्छ– ‘नेविसंघका अध्यक्ष राजीव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँहरूको पद स्वतः खारेज हुनुपर्ने हो । यसअघिको केन्द्रीय समितिले अधिवेशन गर्ने जिम्मेवारी दिए पनि कोरोना महामारी, पार्टीको महाधिवेशनलगायत कारणले गर्दा नेविसंघले अधिवेशन गर्न नसकेको भन्दै महामन्त्री तिमल्सिनाले पार्टीको निर्देशनबमोजिम नेविसंघले अधिवेशन प्रक्रिया छिट्टै अघि बढाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘पार्टीको महाधिवेशन अघि नै नेविसंघले प्रदेशसम्मको अधिवेशन गर्ने तयारी गरेको थियो पछि पार्टी नेतृत्वले अहिले अधिवेशन अघि नबढाउनु भनेकाले रोकिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्