पार्टी एकता जोगाउन नसक्दा पछुतो छ : पोखरेल



काठमाडौं, (नेस) ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा पार्टी जोगाउन नसकेकोमा आफूलाई पछुतो रहेको बताउनुभयो । उहाँले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताउँदै २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा नसकेको बताउनुभयो ।

माओवादीको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उहाँले २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र लिएर भाग लिएर बहुमत ल्याए पनि एकता जोगाउन इमान्दार प्रयास भए पनि जोगाउन नसकिएको स्मरण गर्नुभयो । पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे नयाँ सोचका साथ अघि बढ्न जरुरी रहेकोमा जोड दिदै राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने खाँचो रहेकोमा बताउनुभयो । उहाँले भन्नुभयो– ‘समाजलाई लाभ गर्ने काम गर्न सक्नुभएन भने पाँच दल, ६ दल मिल्नुको कुनै अर्थ छैन ।’

यसैबीच माओवादीको एजेण्डामा दलहरुको प्रतिबद्धता रहेको छ । उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन सहभागी भएका राजनीतिक दलका नेताहरुले माओवादीले उठाएको एजेण्डको प्रशंसा गरेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै बलमा मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए गणतन्त्र आउन सम्भव न भएको बताउनुभयो ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले संविधानमा सबैथोक भएर पनि केही नभएकोजस्तो भान भएको बताउदै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोखरेलले मुलुकमा अझै पनि प्रतिगमनको खतरा कायमै रहेको भन्दै त्यसलाई परास्त गर्न दलहरुबीच सहकार्यको खाँचो रहेकोमा जोड दिनुभयो । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकढिक्का हुन आवश्यक रहेकोमा आफू सहमत रहे पनि त्यसका लागि केही शर्त पूरा हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्