‘संविधानको पालना नगर्दा भद्रगोल’



क्बाठमाडौं, (नेस) ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताउनुभएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेपालको इतिहास अघि बढिसकेकाले अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।

विभिन्न राजनीतिक दलका आआफ्ना मान्यता र विचार हुन सक्ने भए पनि मुल कुरामा सहमति भए बाँकी कुरालाई थाती राख्न सकिने बताउँदै नेपालले भन्नुभयो– ‘देश चलाउन संविधान चाहिने र त्यो संविधानबाट राजनीतिक पार्टी, नेता कार्यकर्ता र सवै मानिस बाँधिन सक्नुपर्छ ।’ ‘पार्टी चलाउनका लागि विधि चाहिन्छ, विधि विधानको पालना भएन भने पार्टीले पार्टीको रुपमा काम गर्न सक्दैन, उहाँले भन्नुभयो । नेता कार्यकर्ता र शीर्ष व्यक्तित्वदेखि साधारण सवै मानिस विधिविधानमा बाँधियो भने मात्र देश अघि बढ्ने बताउँदै अध्यक्ष नेपालले मानिसहरु, नेताहरु र पार्टीहरू विधि विधान किन बाँधिन चाहँदैनन् भन्ने प्रश्न गर्नुभयो । राजनीतिक पार्टी विद्यमान गरिबी, असमानता, अन्याय, अत्याचार, विभेद, शोषणबाट जनतालाई मुक्त गर्न संवेदनशील हनुपर्ने बताउँदै उहाँले मुलुकको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने विषयमा सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । अहिले हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ, यसका लागि नयाँ विचार अगाडि सार्नु आवश्यक छ । नेपाली विशेषताको समाजवाद कस्तो हुने भनेर विज्ञसँग छलफल चलाउन जरुरी छ, नेपालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्