देउवाद्वारा प्रचण्डको प्रशंसा



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संविधानसभाबाट संविधान बन्नुमा प्रचण्डको प्रमुख भूमिका रहेको बताउनुभएको हो । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको बताउनुभयो । ‘प्रचण्डकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो’ –उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको स्पष्ट पार्दै अहिलेको संविधानअन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले गठबन्धन पूरा समय चल्ने प्रतिबद्धता जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिँदै भन्ुनभयो– ‘राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहीं राष्ट्रघात देखेको छैन, म पनि नेपालको प्रधानमन्त्री हुँ, म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्