‘पेट्रोलियम व्यवसायीअनुकूल वातावरण निर्माण गरिने’

0
Shares

बुटवल ।

नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले पेट्रोलियम व्यवसायीहरूको गुनासो नआउने गरी काम गर्ने बताउनुभएको छ । विराटनगरबाट सरुवा भई हालै बुटवल आउनुभएका प्रमुख झाले कसैको दबाब र भनसुनका आधारमा नापतौल ऐन आकर्षित नहुने जिकिर गर्दै कार्यालयले गल्तीकमजोरी प्रमाणित नभएसम्म कुनै पनि व्यवसायीलाई अनावश्यक दुःख नदिने बताउनुभयो ।

पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एसोसिएसन बुटवलले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख झाले पेट्रोलियम व्यवसाय जोखिम र संवेदनशील भएकाले सावधानीका साथ व्यवसाय अघि बढाउन र कुनै पनि गल्तीकमजोरी नगर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

व्यवसायीअनुकूल वातावरण निर्माण गरेर काम गर्ने भन्दै उहाँले व्यवसायीहरूले पनि नियमकानुनको पालना गर्दै उपभोक्ताअनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले प्राविधिक रुपमा हुने कमीकमजोरीलाई लिएर व्यवसायीहरूलाई कारवाही गर्न नहुने धारणा राख्नुभयो । एसोसिएसनमा तीन सयभन्दा बढी व्यवसायी आवद्ध रहेको भन्दै अध्यक्ष न्यौपानेले नापतौल, इन्धनको पूरा परिमाण र मेसिनमा आउनसक्ने समस्याका बारेमा बेलाबेलामा एसोसिएसनले व्यवसायीहरूलाई सचेत गराउँदै आएको बताउनुभयो ।

एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, वरिष्ठ उपाध्यक्ष हिमाल गैरे, महासचिव हरिराम कसौधन, व्यवसायीहरू राजु न्यौपाने, ढुण्डिराज अधिकारी, डासिराम अधिकारी, गोपाल बस्याललगायतले नेपाल आयल निगमबाट ट्यांकरमा आउने इन्धनको परिमाण कम हुने गरेको भन्दै चेक जाँचमा कडाई गर्न आग्रह गर्नुभयो । चार हजार लिटर पेट्रोल खरिद गर्दा ४० लिटर र डिजलमा ७० लिटरसम्म कम आउने गरेको भन्दै व्यवसायीहरूले नापतौल तथा गुणस्तर कार्यालयले यस्ता ट्यांकर चेकिङ गरेर व्यवसायीले पूरा परिमाणमा इन्धन पाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एसोसिएसनले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँग बिमासम्बन्धी अन्तरक्रिया पनि गरेको छ ।

कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख यमप्रसाद तिवारीलगायतले व्यवसायीले उठाएका समस्या र जिज्ञासाको सम्बोधन गर्दै सिद्धार्थले व्यक्ति तथा फर्मसँग गरिएको बिमा सम्झौताअनुसार नै बिमा दाबी भुक्तानी गर्ने बताउनुभयो ।