सरकारी र सामुदायिक अस्पतालको प्रवर्धन गर्न सरकार अग्रसर : गृहमन्त्री खाँण



बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरे पनि गरिबीका कारण उक्त उपलब्धिमा आम नागरिकको पहुँच नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारी अस्पताल कमजोर हुँदा जनताले नीजि अस्पतालमा महँगो उपचार सुविधा लिन बाध्य भएको भन्दै उहाँले सरकारी तथा सामुदायिक अस्पतालहरूको प्रवर्धन गर्न सरकार अग्रसर रहेको बताउनुभयो ।

बुटवलमा सञ्चालित गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले भएभरको सम्पत्ति सबै बिक्री गरेर भए निजी अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता हटाउन सरकार प्रयत्नरत रहेको पनि बताउनुभयो ।

कार्यक्रममा उहाँले रूपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरू गरेको जिकिर गर्दै भन्नुभयो – ‘जनताले विकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन्, त्यही काम गर्दा के जस लिनु ?’उहाँले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताउनुभयो ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८ सय श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गर्न आफूहरू तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्