कांग्रेसको पहिलो बैठकमा डा.शेखरलाई हेपियो



काठमाडौं (नेस) ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ । बैठकले संकल्प प्रस्ताव पारित गर्नुका साथै राष्ट्रियसभाको निर्वाचन र दल दर्ताका सन्दर्भमा पनि निर्णय गरेको छ ।

महामन्त्री गगन थापाले दिएको जानकारी अनुसार बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वार तय गर्ने आधिकारिक हस्ताक्षर सभापति शेरबहादुर देउवाको हुने निर्णय गरेको छ । साथै, निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

शनिबार नै सभापति देउवाले नेताहरूको वरीयताक्रम तोक्नु भएको छ । सभापतिका प्रत्यासी शेखर कोइरालाको वरीयता २०औं नम्बरमा राखिएको छ । केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि निर्धारण गरिएको वरीयतामा डा. कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछि राखिएको छ ।

कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्द्वीलाई सभापति पछिको वरीयता दिने गरिएको थियो । वरीयतामा डा. कोइराला अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहनुभएको छ ।
महामन्त्री थापाका अनुसार सभापति देउवाको निर्णयअनुसार तोकेको वरीयता क्रम मिलाउने कार्य भइरहेको छ ।

सबैको भावनालाई समेटेर काम गर्छुः देउवा
यसैबीच, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरूपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताउनुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिँदै मतदानमा आफूलाई भोट नहाल्नेको पनि प्रतिनिधित्व गरेर पार्टी सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले कांगे्रसको १४औं महाधिवेशनका क्रममा वडा तहदेखि केन्द्रसम्म भएको प्रजातान्त्रिक प्रक्रिया र प्रयोग नेपालका अन्य पार्टीमा बिरलै भएको बताउँदै सच्चा मानेमा कांग्रेस प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित भएको र जनतामा भिजेको दाबी गर्नुभयो ।

आगामी दिनमा हुने तीनै तहका निर्वाचनमा कांग्रेस विजयी भएर सबैभन्दा ठूलो पार्टी बन्ने उहाँले दाबी गर्नुभएको थियो । समारोहमा महाधिवेशनबाट नवनिर्वाचित १३४ पदाधिकारी र सदस्यलाई समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्