कालीगण्डकी कोरिडोरको पर्वत खण्ड स्तरोउन्नती धमाधम,समयमै काम समयमा सक्न निर्देशन 


दुर्गाप्रसद शर्मा, पर्वत  । 

उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोरको पर्वत तथा स्याङजा खण्डमा स्तरउन्नती र ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ ।

 करिब २ वर्ष सम्म सुस्त अवस्थामा रहेको काली गण्डकी कोरिडोरको पर्वत–सङ्गजा खण्डमा निमार्ण कार्यले अहिले गति लिएको हो  ।
उत्तर दक्षिण काली गण्डकी कोरिडोर गैंडाकोट –मालढुंगा आयोजनाले दिएको जानकारी अनुसार पर्वतको सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मीसम्मकोे करिब ५४ किमी सडक खण्ड अन्तर्गत कालोपत्रे र ट्रयाक खोल्ने तथा ग्राभेलस्तरमा स्तरोउन्नतीको काम धमाधम भइरहेको छ ।

कोरिडोर अन्र्तगत स्याङजाको मिर्मी देखि पर्वतको सिमाना सेतीबेणी सम्म १० किलोमिटर सडक कालोपत्रेस्तरमा स्तरउन्नतीको काम भइरहेको छ  भने सेतीबेणी देखि पर्वतको रानीपानी सम्म ७ किलोमिटर सडक कालोपत्रे गर्ने काम ६४ प्रतिशत भन्दा बढी सकिएको छ । मिर्मी र सेतीबेणीको बिचमा भीरमा कडा चट्टान फोड्न विस्फोटनको तयारी समेत छ । पर्वतको रानीपानी देखि फलेबास सम्मको २२ किलोमिटर सडकमा पनि अहिले कालोपत्रे गर्नका लागि धमाधम काम भइरहेको आयोजना कार्यालयका इन्जिनियर सरोज ढकालले जानकारी दिनुभयो ।

रानीपानी देखि फलेबास सम्मको सडकको प्रगति पनि २० प्रतिशत भन्दा बढी छ । फलेबास देखि अर्मादी सम्मको १४ किलोमिटर सडकको मोदीबेणी सडकमा करिब १ सय मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । लामो समय सम्म ठेकेदार कम्पनीले काम नगरेका कारण यो खण्ड पुरा भएको छैन । गएको चैत्रमा सुख्खा पहिरोमा डोजर चालकको पहिरोमा परेर मृत्यु भएपछि रोकिएको काम सुरु गर्न ठेकेदारलाई कारबाही गरी नयाँ प्रक्रिया सुरु गर्न थालिएको कोरिडोर आयोजना कार्यालयले जनाएको छ ।

चीन–भारत जोड्ने काली गण्डकी कोरिडोर आयोजना कार्यालयको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थलगत अवलोकन गर्नुभएको छ । पर्वत जिल्लाको मेरुदण्डको रूपमा समेत रहेको सडकलाई समयमा पुरा गर्न अध्यक्ष तिमिल्सिनाले बजेट बिनियोजन देखि निर्माण कार्यलाई गति दिन निरन्तर अनुगमन गर्दै आउनुभएको छ । यसपटक कोरिडोरको सेतीबेणी देखि मिर्मी खण्डमा चट्टान फोड्न देखिएको समस्या समाधानका लागि पहल गरिने उहाँले बताउनुभयो ।

‘बिष्फोटनका लागि देखिएको प्राविधिक समस्या समाधान गरेर कामलाई गति दिन निर्देशन तथा आवश्यक समन्वय गर्ने काम भएको छ ।’ स्थलगत निरीक्षणका लागि पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो‘नेपालको धार्मिक तथा पर्यटन र बिकासका लागि समेत महत्त्वपूर्ण राजमार्ग भएकाले यसलाई समयमा सम्पन्न गर्नका लागि सबैले उत्तिकै सजग भएर काम गर्न जरुरी छ ।’

गण्डकी र लुम्बिनी प्रदेश,  ९ वटा जिल्लाउँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रूपमा यो सडकलाई हेरिएको छ । पर्वतलाई चीन सँग जोडन काली गण्डकी लोक मार्गको निर्माण कार्य पूरा गरी सरकारले नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरू सहजै चीनबाट आयात गर्न सकिने छ ।