हिंसा विरुद्ध राष्ट्रिय सेवा दलको मार्चपास


मोतीराम तिमल्सिना, काभ्रे । 

स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समान निर्माण हाम्रो अभियान’ भन्ने नारा बोकेको विद्यालय तहमा गठन भएको राष्ट्रिय सेवा दल काभ्रेले ‘यौन हिंसा सदाका लागि अन्त्य गरौँ, एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य, हाम्रो साझा सरोकार’ भन्ने नारा सहित बनेपामा बृहत् मार्चपास गरेको छ ।

मार्चपास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, जनप्रतिनिधि र कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

बनेपाको चार दोबाटो चोकबाट अरनिको राजमार्गको नालादोवाटो हुँदै पुरानो बजार परिक्रमा गरी बनेपा चोकमा आई समापन गरिएको थियो ।

मार्चपासमा विभिन्न विद्यालयमा गठन भएका राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीहरू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपप्रमुख रेखा सापकोटा दाहाल, कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरी प्रमुख महेश केसी लगायत जिल्लाको सुरक्षा निकायका प्रतिनिधिहरु सहभागी थिए ।

मार्चपासमा महिला हिंसा न्यूनीकरण गर्न, मानव बेचबिखन अन्त्य गर्न र यौन हिंसा रोक्न समाजका सबै पक्षको उत्तिकै दायित्व रहेको बताइएको थियो । सोही सन्देश दिने प्लेकार्डहरू मार्चपासमा बोकिएका थिए ।

विद्यालय जीवन देखि नै बालबालिकाहरूलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमान्दारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको थियो । राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीहरू सामाजिक कार्य तथा विपद् व्यवस्थापनमा सक्रिय हुँदै आएका छन् ।

सिनियर र यजुनिर डिभिजनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी छन् । राष्ट्रिय सेवा दल गठन गर्नु अघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले अभिभावक, विद्यार्थी र शिक्षकहरूलाई राष्ट्रिय सेवा दलको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नु भएको थियो । विद्यार्थीहरूलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागी भएकाहरूलाई बिहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ ।

तीन महिने तालिममा सहभागीहरूलाई सेनाले पोसाक लगायतका आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराउनेछ । विद्यालय तहमा लिइने तालिम समापन पछि सेनाले विभिन्न स्थानमा रहेका युनिटहरूमा ‘क्लोम क्याम्प’ मा दुई साता भन्दा लामो समय विद्यार्थीहरूलाई सहभागी गराउनेछ ।

सोही तालिममा उत्कृष्ट भएकाहरूलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने छ । विशेष गरी स्थानीय स्तरमा हुने विभिन्न खालका विपद् भएको अवस्थामा त्यसको व्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आबद्ध भई तालिम प्राप्त विद्यार्थीहरू सक्रिय हुन सकुन् भन्ने उद्देश्यले विद्यालय तह देखि नै विद्यार्थीहरूले सक्रिय बनाइएको हो ।

नेपालमा विपद् धेरै भएकाले विपद् व्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उद्देश्यले उक्त सेवा दललाई ऐनमा भएको व्यवस्था अनुसार कार्यान्वयन सुरु गरिएको हो । तालिम पश्चात् विद्यार्थीहरूलाई एल्मुनाई एसोसिएसन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो ।