दुई थरी जन्ममितिका कारण न्यायाधीश खड्का विवादमा


न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का जन्ममितिका कारण विवादमा परेकी छन् । उनको दुई वटा जन्म मिति रहेको पाइएको छ । उनी न्याय सेवामा प्रवेश गर्दा एक जन्ममिति पेस भएको छ भने जन्ममितिको अभिलेख उच्च अदालतको मुख्य न्यायाधीश भएपछि परिवर्तन भएको देखिएको छ ।

उक्त फेरिएको जन्म मितिका कारण खड्काको सेवा अवधि ३ महिना र केही दिन थपिने देखिएको छ । न्यायपरिषद्को सचिवालयले देशभरका अदालतका न्यायाधीशहरूको वैयक्तिक अभिलेख राख्ने गर्छ । २०७० साल र त्यसभन्दा अघिको न्यायपरिषद्का बुलेटिनहरूमा प्रकाशित अभिलेखअनुसार न्यायाधीश खड्काको जन्ममिति  २०१३ माघ  २८  देखिन्छ।  २०३८ पुस १० गते शाखा अधिकृतको रुपमा सेवा प्रवेश गरेकी खड्का २०४८ कात्तिक २३ मा जिल्ला न्यायाधीश बनेकी थिइन् ।

खड्का २०६२ चैत १० गते पुनरावेदन अदालतको न्यायाधीश बनिन् । यपरिषद्ले खड्का जिल्ला न्यायाधीश र तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश हुँदा पनि त्यही जन्ममिति कायम गरेको थियो । पुरानो अभिलेख अनुसार, उनी आगामी माघ २७ गते सर्वोच्च अदालतको न्यायाधीश पदबाट उमेर हदका कारण अवकाश पाउनेछिन् । संविधानमा सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षसम्म पदमा बहाल रहन पाउने व्यवस्था छ ।

१० भदौ २०७१ मा न्यायाधीश खड्का तत्कालीन पुनरावेदन अदालत पाटनको मुख्य न्यायाधीश बनिन् । त्यसको चार महीनापछि पुस ३ गते न्यायपरिषद् दिवसमा प्रकाशित हुने न्यायपरिषद् बुलेटिनमा उनको जन्ममिति परिमार्जन भएको देखिन्छ । २०७१ सालको न्यायपरिषद्को बुलेटिनअनुसार, खड्काको जन्ममिति २०१४ जेठ २ हो ।

परिमार्जित जन्ममिति अनुसार, खड्का १ जेठ २०७९ सम्म सर्वोच्च अदालतको न्यायाधीश पदमा कार्यरत हुन पाउनेछिन् । सर्वोच्च अदालतको वेवसाइटमा भएको वैयक्तिक विवरणमा पनि खड्काको जन्ममिति २०१४ जेठ २ नै भएकाे उल्लेख छ । न्यायपरिषद्‍बाट मिति परिमार्जन भएको कालखण्डमा दामोदरप्रसाद शर्मा र त्यसपछि रामकुमारप्रसाद शाह प्रधानन्यायाधीश थिए ।