बुटवलमा औद्योगिक व्यापार मेला शुरू



बुटवल ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नु भएको छ ।

नगर प्रमुख सुवेदीले पुर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगर लगानीमैत्री शहर बनेको बताउनुभयो । विश्व बैंकको सूचकांकले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सुचिकृत भएको उल्लेख गर्दै सुवेदीले बुटवलमा आउंदो तीन वर्षमा साढे ६ अर्ब रुपैया लगानी हुने सुनिश्चित भइसकेको बताउनुभयो ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक बिकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गर्नुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै मेलामा उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यान दिन सुझाव दिनुभयो । मेला उद्घाटनका अवसरमा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि अर्याल, नगर सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू,रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले मेला महोत्सवहरूलाइ उपभोक्तामैत्री एवं परिस्कृत र गुणस्तरीय बनाउन सुझाव दिनुभयो ।

पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन् । मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल,विद्यालय स्तरीय नृत्य प्रतियोगिता,निःशुल्क दन्त शिविर,रक्तदान,लोक दोहोरी गायन लगायतका आकर्षण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्