एचआईभी संक्रमितलाई पोषण खर्च वितरण



लमजुङ ।

लमजुङको राइनास नगरपालिकाकाले नगरपालिकाभित्रका एचआईभी संक्रमितलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाले २३ जना संक्रमितलाई आर्थिक सहयोग गरेको हो । स्वास्थ्य शाखाले राइनास–५ तीनपिप्लेस्थित नगर कार्यपालिकामा एक कार्यक्रमको आयोजना गरी पोषण खर्च वितरण गरेको थियो ।

नगरपालिकाले संक्रमितहरुलाई एआरटी सेवा लिनका लागि यातायात खर्च तथा पोषणयुक्त खानाका लागि केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर प्रतिव्यक्ति ९ हजार ५ सय रुपियाँ प्रदान गरेको राइनास नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मीप्रसाद सेढाईंले बताउनुभयो । संक्रमितलाई सहयोग रकम हस्तान्तरण गर्दै नगरप्रमुख सिंहबहादुर थापाले एचआईभी संक्रमितलाई पनि आम नागरिकसरह बाँच्न पाउने अधिकार भएकाले उनीहरुलाई कसैले पनि भेदभाव र हेयको दृष्टिकोणबाट हेर्न नहुने वताउनुभएको थियो ।

संक्रमितहरुलाई नियमित उपचार सेवाका लागि स्वास्थ्य संस्थासम्म जान–आउन सहज होस् भन्ने उद्देश्यका साथ नगरपालिकाले केही मात्रामा भए पनि आर्थिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । हतोत्साहित नभई, सकरात्मक सोच र दृढ आत्मबलका साथ अघि बढ्नसमेत संक्रमतिहरुलाई थापाले आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नानीबाबु ढकालले एचआईभी संक्रमणको अवस्था तथा एचआईभी/एड्सका बारेमा जानकारी सँगै स्वास्थ्य बीमा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । एचआईभी संक्रमितलाई सरकारले निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम ल्याए पनि यसको उचित प्रचारप्रसार तथा सोका बारेमा जानकारी नहुँदा उनीहरु स्वास्थ्य बीमा कार्यक्रममा जोडिन नसकेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो ।

हाल राइनास नगरपालिकाभित्र एचआईभी संक्रमितिको संख्या २५ जना रहेको छ । संक्रमितिले नगरपालिकामै एआरटी सेन्टर सञ्चालन भएमा आफूहरुलाई सहज हुने बताएका थिए । हाल नगपालिकाअन्तर्गतका संक्रमितले बेंसीशहरस्थित लमजुङ जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्