बिचौलियाबाट बच्न गाउँमै दूध संकलन केन्द्र



पाल्पा ।

पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकामा पर्ने भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिचौलियाबाट बच्न गाउँमै दूध संकलन केन्द्र सञ्चालन गरेको छ । गाउँपालिकाभरिका सहकारीबाट संकलन भएको दूध भैरवस्थानमा एकमुष्ठरूपमा संकलन गरी बजारीकरण गर्ने उद्देश्यले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

केन्द्रको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले कृषकहरु बिचलौयाबाट अब ठगिन नपर्ने वताउनुभयो । उहाँले अबका दिनमा उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण व्यापारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दूध संकलन केन्द्र अन्य संकलन केन्द्रले जस्तो एउटै व्यापार नगरी फरक–फरक किसिमको व्यापार गर्न सहकारीलाई सुझाव दिनुभयो । सोही अवसरमा कृषकहरुलाई दूध, दाना, घाँस तथा विविध कामका लागि हेफर प्रोजेक्टको ५० प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा बलेरो पिकअप जिपका चाबी गाउँपालिकाका अध्यक्ष जिसीले सहकारीका अध्यक्ष केशव खनाललाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले सहकारीमार्फत कारोवार गर्दा किसानले उल्लेखनीय फाइदा पाउने भएकाले ऋण धन सहयोगदेखि विभिन्न पशु कृषिका उपकारणहरु, तालिम तथा घाँस, बीउ, दानामा समेत सहयोग पाउने बताउनुभयो ।

गाउँपालिकाका–४ का वडा अध्यक्ष दुर्गाप्रसाद खनाल, वडा २ का अध्यक्ष रामचन्द्र नेपाल, वडा १ अध्यक्ष विष्णुप्रसाद गैर, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि खनाल, ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्की, रिब्दीकोट सहकारी सञ्जालका अध्यक्ष दानबहादुर कुँवर, हेफर पोजेक्टका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डे लगायतले अब पालिकाभरि दूध एकै ठाउँमा संकलन गरी बिक्री वितरणको कृषकहरुको आम्दानी बढ्ने बताउनुभयो ।

गाउँपालिकाको ८ वटा वडामा हाल १ हजार ४ सय ३० लिटर दूध संकलन हुँदै आएकोमा अबका दिनमा भैरव दूधको नामबाट बिक्री–वितरण गरिने सहकारीले जनाएको छ । सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा बिक्री कक्ष सञ्चालन गर्ने जनाएको छ । आगामी दिन भैरवस्थान रोटघरहरुमा पनि गाउँकै शुद्ध घिउ वितरण गर्ने सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्