फोटो खिचाउन ‘ठेलमठेल’, काभ्रेमा थपिए ६६४६ मतदाता



काभ्रे ।

फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा हरेक दिन लामो लाइन लाग्न थालेको छ । गाउँ–गाउँबाट बस रिर्जभ गरेर सदरमुकाम आएका नागरिक ठेलमठेल गरी फोटो खिचाउन थालेका छन् ।

कार्यालयले सबै पालिकाका केन्द्रहरु, जिल्ला प्रशासन कार्यालय र आफ्नै कार्यालयमा समेत उक्त सेवा उपलब्ध गराएको थियो । मंसिर १७ गतेदेखि शुरु भएको अभियान पुस ८ गते समापन भएको छ । जिल्ला निर्वाचन कार्यालयमा दैनिक २ सय ५० जनाभन्दा धेरैले फोटो खिचाउने गरेका थिए । अभियानका क्रममा ६ हजार ६ सय ४६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा ९ सय ७३, जिल्ला प्रशासन कार्यालयमा ५ सय ८० जनाले फोटो खिचाएका छन् । पहिलो चरणमा जिल्लामा मंसिर १७ गतेदेखि २६ गतेसम्म बनेपा, पनौती, पाँचखाल, बेथान्चोक, खानीखोला र रोशी गाउँपालिकामा छुटेका मतदाताहरुको नामावली संकलन गरिएको थियो । बनेपामा ९ सय ४७, पनौतीमा ८ सय २३, पाँचखालमा ५ सय ७८, बेथान्चोकमा ३ सय ५२, खानीखोलामा ४ सय ७८ र रोशी गाउँपालिकामा २ सय २१ जनाले मतदाता नामावलीका लागि फोटो खिचाएका छन् ।

दोस्रो चरणमा मंसिर २८ देखि पुस ८ गतेसम्म भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा अभियान सञ्चालन गरिएको थियो । भुम्लुमा १ सय ५६, चौरीदेउरालीमा १ सय ८०, तेमालमा १ सय ४४, महाभारतमा ४ सय ६८, मण्डनदेउपुरमा ४ सय ७० र नमोबुद्ध नगरपालिकामा २ सय ७६ जनाले मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार पुस ८ गते पालिकाका केन्द्रहरुमा दोस्रो चरणमा शुरु भएको अभियान सम्पन्न भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता रहेकोमा २३ हजार २ सय ८० थप भई २ लाख ९५ हजार ५ सय ७२ पुगेको छ । जसमा महिला १ लाख ४५ हजार २ सय ६२ र पुरुष १ लाख ५० हजार ३ सय ९, तेस्रोलिंगी १ जनाले मतदाता सूचीमा नाम समावेश गरेका छन् । काभ्रेपलाचोक जिल्लामा १३ पालिका, २ वटा संघीय क्षेत्र र चारवटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्