माओवादी महाधिवेशनमा लमजुङबाट १३ जना प्रतिनिधि



लमजुङ, (नेस) ।

नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।

सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट हुनेहरुमा जिल्ला समन्वय कमिटि संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी, संविधान सभा सदस्यसमेत भइसकेका माओबादी नेता बुद्धिराम गुरुङ सहित सरोश शर्मा र सुनील सुनार रहेका छन् । यस्तै, माओवादी केन्द्र लमज्ुङका अनुसार केन्द्रीय सल्लाहकारहरु ऋषिराम पौडेल, चित्रबहादुर कार्की ‘सिवी’ र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् भने जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका पुर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् ।

नेकपा माओबादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चार जना छनोट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुई जना छनोट गरेको हो । सोबाहेक नेकपा माओबादी प्रदेश कार्यालय बैठकले जिल्लाका सतीमाया तामाङ र मोहमद जलालद्दिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधिका रूपमा छनोट गरेको छ । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएको नेकपा माओवादी केन्द्र लमजुङले जनाएको छ ।

पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटिमा चयन भएका छन् । यसअघि नेकपा माओवादी केन्द्रले वडा, टोल, स्थानीय पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्