नागरिकलाई परिवारकार्ड वितरण गरिने



पाल्पा, (नेस) ।

पाल्पा जिल्ला सदरमुकाम तानसेन नगरपालिकाभित्रका सबै घर–परिवारको विवरण संकलन गरी परिचय–पत्र वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाले सबै घर–परिवारलाई पारिवारिक लगत विवरण संकलन गरी परिवारकार्ड वितरण गर्ने लागिएको हो ।

नगरपालिकाभित्रका सबै घर–परिवारको विवरण संकलन गरेर परिवारकार्ड वितरण गर्ने प्रयोजनका लागि पालिकाले सबै वडामा गणकहरु खटाएर घर–परिवारको तथ्यांक संकलन गर्नेछ । यसका लागि लगत संकलनमा १४ जना गणकले तथ्यांक संकलन गर्ने पालिकाले जनाएको छ । नागरिक र परिवारको सबै परिवारको विवरण अद्यावधिक गरी प्रविधिमैत्री बनाउन तथ्यांक संकलन गर्न लागिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नगरप्रमुख शाहीले नागरिक र कार्यालयलाई कागजविहीन बनाउँदै लैजाने योजनासमेत रहेको भन्दै त्यसको पूर्वतयारी अनुरूप तथ्यांक संकलन गरिएको हो ।

आगामी दिनमा नगरपालिकाभित्र हुने सम्पूर्ण कामका लागि प्रयोग हुने गरी कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लगायत समावेश हुने छन् । यसबाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी विवरण, घरजग्गाको विवरण, आर्थिक विवरण, नगरपालिकाबाट पाएका सेवा–सुविधा लगायतका जानकारी फेमिली कार्डको बार कोडमार्फत हेर्न मिल्ने वनाइने छ ।

नगर सूचना व्यवस्थापन प्रणालीअन्तर्गत फेमिलीकार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताउनुभयो । कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आईडी नम्बर समावेश गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्