ओमिक्रोनको जोखिमबाट जोगाऊ सरकार



Coronavirus economic impact concept image

विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको संक्रमण देखा पर्यो । भारतमा ओमिक्रोन फैलिएको पत्तो पाउँदा पनि हेलचेक्र्याइँ गरेको हुनाले नेपालमा पनि ओमिक्रोनका संक्रमित फेला परे ।

नेपालमा दुईजनामा ओमिक्रोन पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयले नै नेपालमा ओमिक्रोनको संक्रमण देखिएको भनेर जानकारी गराएको थियो । कोभिडलाई हलुकारुपमा लिँदा नेपालमा हजारौंले ज्यान गुमाए । ओमिक्रोनलाई पनि नेपाल सरकार र जनताले साधारण रोगको रुपमा हेरेका छन् । जसले गर्दा कोरोनाजस्तै दिन आउन बेर लाग्दैन । ओमिक्रोनको रोकथामको लागि अझै पनि नाकाहरुमा कडाइ गरिएको छैन । नेपाल प्रवेश गर्ने सम्पूर्ण नाका खुला छोडिदिएको छ ।

नाकामा हेल्थ डेस्कको व्यवस्था मिलाइएको छैन भने कोरोना परीक्षण त्यहाँ सम्भव छैन । भारत या अन्य मुलुकबाट नेपाल भित्रिनेहरु पनि स्वतन्त्ररुपमा घुमफिर गरिरहेका छन् । नाकाबाट भित्रिनेहरुको लागि क्वारेन्टिन बनाइएको छैन ।

भारतमा ओमिक्रोन संक्रमण देखा पर्नेबित्तिकै नेपाल सरकारले नाकाहरुमा कडाइ गर्नुपर्ने हो तर त्यस्तो गरिएन । स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्टको जोखिमबारे पत्तो पाउँदापाउँदै पनि मौन बस्यो । जसको कारण नेपालमा पनि ओमिक्रोन संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले जनतालाई कोरोनाबाट बचाउनको लागि कुनै प्रभावकारी कदम चालेको छैन । ओमिक्रोनको संक्रमणबाट देशका नागरिकलाई टाढा राख्नको लागि स्वास्थ्य मन्त्रालयले योजनासमेत बनाएको छैन ।

अहिले पनि अन्तर्राष्ट्रिय स्तरको उडान दैनिक भइरहेको छ । दैनिक सयौं मान्छेहरु नेपाल आउँछन् । तथापि, उनीहरुको कोरोना परीक्षण भएको छैन । न उनीहरुद्वारा कुनै स्वास्थ्य मापदण्ड पालना गरिएको छ । हवाईजहाजबाट नेपाल आउनेहरु सीधै आफ्नो घरतिर लागिरहेका छन् ।

यसले गर्दा ओमिक्रोनको जोखिम झनै बढ्दो छ । सरकारले हाल केही दिनको लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन जरुरी देखिएको छ । यता, लामो दूरीका सवारीसाधनहरु पनि सञ्चालनमा आइरहेका छन् । यिनीहरुलाई पनि हालको लागि स्थगित गर्नुपर्छ ।

ख्यालख्याल गर्दागर्दै नेपालमा पनि ओमिक्रोन देखा पर्यो तर कसैले पनि यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । बजारमा एकदमै भीडभाड रहेको छ । अनावश्यकरुपमा टाइम पासको लागि घुमफिरमा निस्किने यात्रुहरु पनि यत्तिकै छन् । हरेक व्यापार व्यवसायमा सर्वसाधारणको चर्को भीड रहेको छ । अधिकांशले स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् भने सामाजिक दूरीको कल्पना नगरौं । नाकमुख छोप्नको लागि प्रयोग हुने मास्क प्रायजसो चिँउडोमा लगाएको देखिन्छ ।

साँझ परेपछि बजारको भीड झनै बढ्दो छ । खरिद गर्न आएका र फुटपाथ पसलेले सबैतिर ढाकेका हुन्छन् । त्यत्रो भीडबाट कोरोना नफैलिएला भन्न सकिन्न । सामान किन्न आएकाले मात्र नभई व्यापारीले समेत मास्क लगाएका छैनन् ।

त्यस्तै, सार्वजनिक यातायातमा भेडाबाख्रा कोचेझैँ यात्रु हालेका छन् । खुट्टा टेक्ने ठाउँको अभाव भाडाका गाडीमा यात्रा गर्नेलाई हुन्छ । त्यस्तो अवस्थामा कसरी कोरोनालाई ध्यानमा राख्ने ? भौतिक दूरी कसरी पालना गर्ने ? गाडीको सहचालक ढोकैसम्म यात्रु हाल्न छोड्दैनन् । जनताले छानी–छानी रोजेर चढ्नलाई गाडी छैन । भीडभाड भए पनि सबैलाई जानै परेको छ । सार्वजनिक यातायातहरुमा बढी भीडभाड हुँदा पनि कोरोना फैलिने निश्चित देखिएको छ ।

यता, मठमन्दिरमा पनि श्रद्धालुहरुले कोरोना फैलाउन निकै महत्वपूर्ण भूमिका खेलेका छन् । कोरोनाको जोखिम कायमै रहँदा खोलिएको मठमन्दिरले कोभिड संक्रमणलाई बढावा दिएको छ । श्रद्धा गर्ने भन्दै स्वास्थ्य मापदण्डको पालना नगरी भक्तजनहरुले मठमन्दिरमा घुँइचो लगाएका छन् । सरकारले उचित समय नहेरी मठमन्दिर खुला गर्न दिँदा यसको भार पनि सरकारले नै भोग्नुपर्नेछ । हाललाई मठमन्दिर बन्द गरिदिने हो भने पनि हुलमूल कम हुन्छ ।

रात्रिकालीन व्यवसायीहरुले आफ्नै मनमर्जी चलाएका छन् । कोभिडबाट बच्नका लागि रात्रिकालीन व्यवसायहरु बन्द गर्नु नै उचित हुने देखिन्छ । रात्रिकालीन व्यवसाय बन्द गरिदिँदा भीडभाड केही हदसम्म भए पनि कम हुन्छ । सरकारले बैंक, फाइनान्सलगायतका वित्तीय संस्थाहरु पनि जोर–बिजोर प्रणाली लागू गरेर सञ्चालनमा ल्याउनुपर्छ ।

अहिले सबैभन्दा धेरै भीडभाड देखिएको पनि वित्तीय संस्थामै हो । वित्तीय संस्थाका अधिकांश कामकाज घरबाटै काम गर्न सिस्टम ल्याउनुपर्छ । भाटभटेनी, सेल्सबेरी तथा अन्य सुपरमार्केटले पनि स्वास्थ्य मापदण्डलाई उल्लंघन गरेर आफ्नो व्यवसाय चलाइरहेका छन् । दैनिक खरिद गर्न जानेहरुको भीड यस्ता सुपरमार्केटमा अत्यधिक छ । कोभिडको जोखिम झनै बढिरहेकाले सरकारले सुपरमार्केटलाई सञ्चालनमा रोक लगाउनुपर्छ ।

यता, विद्यालयहरुमा पनि कोरोनालाई निकै नै ख्यालख्याल गरिएको छ । स–साना विद्यार्थीले नबुझे पनि ठूलाले नै हेलचेक्र्याइँ गरिरहेका छन् । विद्यालयहरुमा भौतिक दूरी झनै असम्भवजस्तै भएको छ । ठूलाभन्दा पनि साना बढी कोरोनाको जोखिममा परेका छन् ।

विद्यालय प्रशासनले सम्पूर्ण मापदण्ड पालना गर्ने सर्तमा विद्यालय खोले पनि त्यसको कार्यान्वयन भएन । देशका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारहरुमा पनि मानिसको निकै चाप रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार, धुम्बाराही, तीनकुने, बल्खुस्थित रहेको तरकारी बजारमा मेला लागेजत्तिकै छ । यी तरकारी बजारहरुमा दैनिक लाखौं सर्वसाधारणको ओहोरदोहोर हुने गर्दछ । एकजनालाई लागेको कोरोना यहाँबाट हजारौंमा सल्किने त्रास रहँदै आएको छ । सरकारले पनि यस्ता हुलमूल हुने ठाउँ तत्कालै बन्द गर्ने घोषणा गर्नुपर्छ ।

मास्क नलगाउनेलाई कैद र जरिबाना तोकिदिनुपर्छ । अहिले विभिन्न राजनीतिक पार्टीहरुको महाधिवेशन चलिरहेको छ । सबै पार्टीहरुले हजारौंको संख्यामा मानिस भेला गरेर महाधिवेशन गरेका छन् । के जनताभन्दा ठूलो महाधिवेशन हो ? हालै मात्र एमाले र राप्रपाको महाधिवेशन सिद्धियो । नेपाली कांग्रेसको महाधिवेशन पनि नजिकिँदै छ । तर, कोरोनाको जोखिम बढेको छ । त्यसैले हाल महाधिवेशनलाई बढावा नदिनु नै बेस हुन्छ । अहिले कांग्रेसकै सरकार चलिरहेको छ ।

कांग्रेसले आफ्नो सरकार चलिरहेको बेला महाधिवेशन गरेर कोरोना फैलाएर जनता मारिदिने ? कि त जनता बचाउनतर्फ सरकार अघि बढ्ने ? यो प्रश्न प्रधानमन्त्री शेरबहादुर देउवालाई । अब के गर्दा ठीक होला, प्रधानमन्त्रीले नै सोच्नुपर्नेछ । कि त महाधिवेशन गरेर जनता मार्नुपर्यो, कि त लकडाउन गरेर जनता बचाउनुपर्यो । नेपालको तीन करोड जनताको जिम्मा प्रधानमन्त्री देउवाको काँधमा छ । जनताप्रति जिम्मेवार सरकार हुने हो भने तुरुन्त लकडाउन गर्न आवश्यक छ ।

उद्योग व्यवसायीहरु लकडाउन गर्न हुन्न भन्ने पक्षमा छन् । आफ्नो व्यापार व्यवसाय डुब्छ भन्ने त्रास उद्योग व्यवसायीमा छ । तर जनता नै छैनन् भने कसले सामान किन्ने ? राज्यले कहाँबाट कर पाउँछ ? अहिलेको आवश्यकता भनेकै स्वास्थ्य मन्त्रालयले लकडाउनको प्रस्ताव मन्त्रिपरिषद्मा लानु हो । स्वास्थ्य मन्त्रालयको लापरबाहीले जनता मर्न नपरोस् । बेलैमा स्वास्थ्यमन्त्री जनताप्रति जिम्मेवारी बनून् ।

– समर सुवेदी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्