काठमाडौं महानगरलाई रानीपोखरीको स्वामित्व हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

पुनर्निर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई रानीपोखरीको स्वामित्व हस्तान्तरण गरेको छ । आज पोखरी परिसरमा एक कार्यक्रम आयोजना गरेर प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पोखरी हस्तान्तरणको कागज प्रदान गर्नुभएको हो ।

रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि भोलिबाट सकिँदैछ ।मल्लकालमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गर्न लगाएको पोखरीको इतिहासलाई संरक्षण गर्दै पुनर्निर्माण गरिएको थियो । २०७२ सालको भूकम्पले पोखरी जीर्ण भएको थियो ।

यसको पुनर्निर्माण क्रममा असमन्वय र पोखरीका विचमा रहेको मन्दिरको शैलीका विषयमा मतान्तर भएपछि तत्कालीन प्रधानमन्त्री के। पी। शर्मा ओलीको आग्रहमा पुननिर्माणपछि महानगरको स्वामित्व कायम रहने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुननिर्माणको जिम्मेवारी दिइएको थियो ।

हस्तान्तरण समारोहमा बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘प्राधिकरणले पोखरी पुनर्निर्माण गर्दा महानगरले गरेका निर्णय कार्यान्वयन गनुपर्र्ने शर्तमा आधारमा दिइएको थियो । पुनर्निर्माण यसैअनुरूप भएको हो ।’ त्यसबेला पोखरीको विचमा रहेको बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो ।

२०७४ पुष १३ गते र त्यसै बर्ष चैत २२ गते महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेका २ वटा बैठकका निर्णयका आधारमा त्यो मन्दिरलाई मल्लकालीन ग्रन्थ कुट शैलीमा पुनर्निर्माण गरिएको हो । स्थानीय आवाज र सरोकारवाला कार्यालयविचको असमन्वयलाई वैज्ञानिक समाधान निकाल्न २०७४ पुष १३ गते राष्ट्रिय सभा गृहमा बसेको बैठकले पुरातत्त्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गठन गरेको थियो । त्यस बैठकको निर्णयमा लेखिएको छ – ‘रानीपोखरीलाई प्रतापमल्लकालीन शैली स्वरूप र निर्माण सामाग्री प्रयोग गरी पुनर्निर्माण गर्न देहायबमोजिमको एक विशेषज्ञ समिति गठन गर्ने निर्णय गरियो ।’

पोखरी पुनर्निर्माण सन्दर्भ र महानगरले सम्पदा पुनर्निर्माण लागि गरेको लगानी तथा प्रयासका बारेमा धारणा राख्दै मेयर शाक्यले भन्नुभयो, ‘रानी पोखरीको दोस्रो चरणको काम सकिएपछि त्यो खण्ड महानगरलाई नै हस्तान्तरण हुनेछ । धरहरा पुननिर्माणपछि महानगरलाई हस्तान्तरण हुनेछ । काष्ठमण्डप पुननिर्माणको अन्तिम चरणमा छ । यी सम्पदा हामी जसजसले निर्माण गरे पनि राष्ट्रिय धरोहर हुन् । यी धरोहर काठमाडौँ महानगरको कार्य क्षेत्रमा छन् । त्यसैले यसको संरक्षण महानगरले गर्नेछ । सम्पत्ति सबैको हो ।’

महानगरले स्थानीय अजयरत्न स्थापितको संयोजकत्वमा ५ सदस्यीय उपभोक्ता समिति गठन गरेको थियो । २०७५ फागुन १५ गते कार्यकारी समिति सदस्य डा। चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको ‘रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति’ को सदस्यहरूमा महानगरपालिकाले तोकेका ३ जना जनप्रतिनिधिहरू हुनुहुन्थ्यो । महानगरको ३० औँ कार्यपालिका बैठकले वडा १ ले अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा २८ का अध्यक्षलाई समितिमा मनोनयन गरेको थियो ।

हस्तान्तरण समारोहमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सकेसम्म महानगरपालिकाले नै पुनर्निर्माण गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको बताउनुभयो । यसलाई प्राधिकरणले पुनर्निर्माण गरेर महानगरलाई हस्तान्तरण गरेको छ । यो हामी सबैको खुशीको क्षण हो । रानी पोखरी काठमाडौँको प्रतीक हो । यसले काठमाडौँलाई र काठमाडौँको व्यवस्थापन गर्ने जनप्रतिनिधिलाई पनि चिनाएको छ । यसबाट आफू पनि परिचित हुन पाएकी छु । यसमा मलाई गर्व छ । उपमेयर खड्गी श्रेष्ठ भन्नुभयो, ‘उतारचढावविच काम सम्पन्न भयो । सहभागिता भयो भने समृद्धिमा पुग्न समय लाग्दैन भन्ने यो एउटा उदाहरण पनि हो ।’

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण सम्पन्न भइसकेको छ । उपभोक्ता समितितर्फ ८ करोड १५ लाख रुपैयाँमा पोखरीमा कालीमाटी राखेर निर्माण गरेका हुन् ।

२०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ १७ करोड ४५ लाख रुपैयाँमा बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको हो ।

पुननिर्माणपछि २०७७ कार्तिक ५ गते रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री के। पी। शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यसैदिन दरबार हाइस्कूल महानगरलाई हस्तान्तरण गरिएको थियो ।

पुनर्निर्माण गर्दा परम्परागत निर्माण सामग्रीहरु चुना, सुर्खी, बालुवा, काठ, माअप्पा, दची अप्पा, फ्याको प्रयोग गरिएको छ ।
दोस्रो चरणमा उत्तरपट्टि टिकट काउन्टरसहितको पार्क र दक्षिणतर्फ सत्तल, गोलपाटीसहितका संरचना तयार हुँदैछन् । योजनाको ९० प्रतिशत काम सकिएको छ । प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले भन्नुभयो, ‘रानी पोखरी पुनर्निर्माण धेरै कोणबाट सिकाइ बनेको छ । ठेक्का र उपभोक्ता समिति दुवै एउटै आयोजनामा समावेश हुन सक्ने रहेछ । यस्ता धेरै सिकाइ रानीपोखरीसँग छन् ।’

पोखरी दुवै चरणमा निर्माण सम्पन्न भएपछि दिगो उपयोगको कार्यक्रम बनाएर सञ्चालनमा लैजानुपर्छ , कार्यक्रममा प्राधिकरणका सचिव शुशिलचन्द्र तिवारीको भनाइ थियो । प्राधिकरणका सहसचिव एवं आयोजनाका प्रमुख भरतप्रसाद अर्यालकाअनुसार पोखरीमा कालीमाटीको प्रयोग गरेकाले पानी चुहिने समस्या छैन । वाष्पिकरणबाट पानीको सतह घटनुवाहेक अन्य कारणले पानीको सतह घट्दैन ।

मन्दिर, पुलसहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । सहसचिव अर्यालकाअनुसार बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ । पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो । सरकारले २०७५ माघ १४ गते प्राधिकरणमार्फत पुननिर्माणको काम गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्