‘तरलता सहज बनाउन राष्ट्र बैंक प्रयासरत’



काठमाडौं, (नेस) ।

तरलता सहज बनाउन केन्द्रीय बैंकले प्रयास गरिरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । बुधबार पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

आयातमा उच्च वृद्धि भएका कारण तरलता समस्या भएको भन्दै आयातमा कर्जा प्रवाह भएका कारण तरलता समस्या भएको दाबी गर्दै राष्ट्र बैंकले आयातमा कडाई गर्न प्रतितपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले कर्जा प्रवाह ४ सय अर्ब रुपियाँले वृद्धि हुँदा निक्षेप जम्मा सय अर्ब रुपियाँ वृद्धि भएको भन्दै तरलता सहज बनाउन सवा खर्ब रुपियाँ पुनर्कर्जा सुविधा दिएको बताउनुभयो । राष्ट्र बैंकले दुई किस्ता गरेर थप ९२ अर्ब रुपियाँ पुनर्कर्जा उपलब्ध गराउने तयारी गरेको गभर्नरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो किस्तामा ५२ अर्ब र दोस्रो किस्तामा ४० अर्ब रुपियाँ पुर्नकर्जा राष्ट्र बैंकले दिँदै छ ।

उहाँले मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीडी रेसियो) खारेज गरेर सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) कायम गरेका कारण तरलता अभाव नभएको दाबी गर्नुभयो । कोभिड अगाडि मासिक औसत ८० अर्ब रेमिट्यान्स आउने गरेकोमा अहिले ७८ अर्ब रुपियाँ आइरहेको उल्लेख गर्दै विदेशी मुद्राको सञ्चिति पनि कोभिड अगाडिको तुलनामा नघटेको गनर्भर अधिकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्