लयमा फर्किदै भन्सार राजस्व



वीरगन्ज ।

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन लयमा फर्किएको छ । कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणामस्वरूप भन्सार राजस्व सुधारको रूपमा देखिएको हो ।

मुलुकको प्रमुख व्यापारिक नाकामध्येको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिना गत साउनदेखि मंसिरसम्म ८८ अर्ब ६९ करोड ९२ लाख रूपियाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले दिएको लक्ष्य ८२ अर्ब ६१ करोड २५ लाखभन्दा वीरगन्ज भन्सारले ७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । गत वर्षको यसै अवधिको तुलनामा भने वीरगन्ज भन्सारले ३० अर्ब ५३ करोड ९२ लाख बढी राजस्व उठाएको हो ।

वीरगन्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा संकलित राजस्व ५८ अर्ब १५ करोड ९९ लाखभन्दा यस वर्षको सोही अवधिमा ५२ दशमलव ५० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्