विश्वमा हरेक वर्ष महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १०, मानवअधिकारको विश्वव्यापी घोषणा भएको दिवससम्म मनाइने यस अभियानले विश्वलाई लैङ्गिक समानतातिर अघिबढ्न अभिप्रेरित गरेको छ । यस्तै, संयुक्त राष्ट्रसंघीय अभियानका अन्य कार्यक्रमले पनि महिला हिंसाविरुद्धको अभियानलाई सघाइरहेका छन् । तर, आम अधिकारकर्मीले सोचेजस्तो लैङ्गिक समानता प्राप्त हुन सकिरहेको छैन । पितृसत्तात्मक तथा नकारात्मक पुरुषत्वले संसारलाई नै गाँजेका कारण बारम्बारका प्रयासहरू पनि अपर्याप्त देखिएका छन् । २१औं शताब्दीको यस विकसित भनिने विश्वमा मानवीय व्यवहारलाई लिङ्ग प्रदान गरेर होच्याउने, उपहास गर्ने र आत्महत्या गर्न विवश बनाउने काण्डहरू अझै भोग्नुपरिरहेको छ ।
उदाहरणका लागि छिमेकी चीनको पछिल्लो एक दुःखद् घटनालाई लिन सकिन्छ । २६ वर्षे झोउ पेङ नामका ती व्यक्तिको आत्महत्यापछि लैङ्गिक मान्यताको विवाद चुलिएको छ । ‘केटीजस्ता देखिने’ यी युवकले लैङ्गिकताकै कारण हिंसाको शिकार हुनु विडम्बनाको पराकाष्ठा हो । केटाहरू बदमास हुनुपर्छ, झगडा गर्ने र धमास दिने उनीहरूको स्वभाव हुनुपर्छ, केटाहरू धेरै शान्त छन् भने उनीहरूलाई कायर भन्ने गरिन्छ, यो कस्तो मान्यता हो ? असल गुण देखाउने केटालाई केटीजस्तो भनेर खराब हुन सिकाउने कस्तो सोच ? चीनको पूर्वी झेजियाङ प्रान्तका झोउले आत्महत्या टिपोटमा लेखेको यस टिपोटले सबैलाई रुवाउँछ । कम्तीमा लैङ्गिक समानताका अभियन्ताहरूलाई यस प्रश्नले भालासरह रोपेको छ । किनभने यस प्रकारको भावना व्यक्त गरेको भोलिपल्ट उनको लास फेलापरेको थियो ।
उनले आफूमाथि सबैले हेपाहा व्यवहार गरेको र यसका पछाडिको कारण उनले आफू आम युवकहरूजस्तो नभएकोले नै हो भनेका छन् । ‘म सायद केही मात्रामा केटीजस्तै देखिन्छु, सानै हुँदादेखि नै मैले आफूलाई सामान्य देखिने पहिरन लगाएँ, केटीहरूले जस्तो व्यवहार त गर्दै छुइनँ भनेर सतर्क भएँ’ झोउ पेङले लेखेको यस भनाइमा केटीजस्तो हुनुलाई समाजले अपराधका रूपमा लिएको देखिन्छ । भनेका छन्, ‘मैले आफूलाई सामान्य राख्ने प्रयास गर्दागर्दै पनि विद्यालयमा मलाई मौखिक अपमान, वहिष्करण, धम्की…. सबै प्रकारका दुव्र्यवहारको शिकार हुनुप¥यो ।’ सबै विवरण हेर्दा, झोउ नरम स्वभावका भद्र व्यक्ति देखिन्छन्, यी सबै राम्रा गुणहरू हुन्, तर पनि उनी आक्रमणमा परे, किनभने उनमा परम्परागत पुरुषत्वका गुणहरू थिएनन् । यसले परम्परागत मान्यता कति जबरजस्त रूपमा समाजमा गाडिएको छ, भन्ने प्रमाणित हुन्छ ।
समाजमा पुरुष यस्तै हुनुपर्छ, महिला यस्तो हुनुहुन्न भन्नेजस्ता मान्यताले जरा गाडेको छ । परम्परागत यस्ता चिन्तनले विभेद गरेको छ । पुरुषलाई यही समाजले रुनसम्म दिँदैन । सानैदेखि केटाहरू रुनबाट वञ्चित गरिन्छन्, परिणामस्वरूप उसको सामाजिक विकास मात्र होइन मानसिक विकासमा पनि अवरोध आउँछ । उसलाई नकारात्मक पुरुषत्वका गुणहरू अंगीकार गर्न समाजले नै उक्साउने गर्दछ । पुरुषहरू पुरुषत्व देखाउने रोगका कारण मानवाबाट दानव बनिरहेका हुन्छन् । दाम्पत्य जीवनमा पनि प्रेमपूर्ण आलिङ्गनबाट वञ्चित हुन्छन् । दबाब र तनाबमा जीवन बिताइरहेका हुन्छन् । त्यसैलाई नै सफलता ठान्ने मानसिकतामा परिवर्तन ल्याउनु आजको अनिवार्य आवश्यकता बनेको छ ।
प्रतिक्रिया