काठमाडौं ।
केही दिन अघिदेखि खेलकुद क्षेत्रमा विवाद बढिरहेको छ । नेपाली क्रिकेट खेलका प्रसिद्ध खेलाडी ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरी कारबाहीमा परेपछि विवाद बढेको हो । उनीहरूलाई अनुशासनहीन भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले ६ महिनासम्म कुनै गे्रडिङमा नराख्ने गरी कारबाही गरेको हो । उनीहरूमाथि क्यानले अनुशासन कारबाही गरेको विषय यतिबेला चारैतिर चासो भइरहेको छ । केहीले भने क्यानको समर्थन गरिरहेका छन् ।
नेपालका राजनीतिक नेताले क्यानको कारबाहीमा बोलेपछि यो विषय राजनीतिक विषयसमेत बनेको धेरैको भनाइ रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई समेत फोन गरेका थिए । प्रधानमन्त्री देउवाले अध्यक्ष चन्दलाई निर्णयप्रति पुनर्विचार गर्न आग्रह गरेको पनि मिडियामा निकै चर्चा भएको छ । यस्तै, माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले पनि यस विषयमा गम्भीरता लिएको जनाएको छ । तर, क्यानका एक पदाधिकारीले बताए कि यदि यसरी राजनीतिक हस्तक्षेप भएमा क्रिकेट मात्रै होइन पूरै खेलकुदको लागि दुर्भाग्य नै बन्ने पक्का छ ।
यस्तै, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले यस विषय कुनै ठूलो नभएको र यसमा समाधान छिटै निस्कने बताए । पाण्डेले नेपाल समाचारपत्रलाई बताए–क्यानको कारबाहीको विषय समाधान हुन्छ । यदि, यसमा मध्यस्था गरेर जाने हो भने यसको हल छिटै निस्कन्छ । क्यानका एक प्रतिनिधि, खेलाडीबाट एक प्रतिनिधि र कोच मिलेर छलफल गरेमा यसको समाधान हुन्छ । के कुरा चित्त नबुझेको त्यसमा पुनर्विचार गर्नुपर्छ । यो बाहिर ल्याउने कुरा पनि होइन, तर बाहिर निस्किसक्यो । प्रधानमन्त्रीले बोल्नुभयो, प्रचण्डले बोल्नुभयो , यो विषयलाई लम्ब्यायो भने यसले नेपाली क्रिकेटमा ठूलो दुर्घटना निम्त्याउन सक्नेछ । मेरो विचारमा मिलेरै समाधान निकाल्नु जरुरी छ ।
यसैगरी, कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पनि केही दिन कुर्ने मनसाय राखेका छन् । शुक्रबार ज्ञानेन्द्रसहित कार्वाहीमा परेका चारै खेलाडीले प्रेस मिट गरेर यस विषयबारे बोलेका थिए । ज्ञानेन्द्रले नेपाल समाचारपत्रलाई बताए–हामीले चित्त नबुझेको कुरा राखेका हौं । यसमा क्यानलाई ध्यानाकर्षण पनि गराएका छौं । वहाँहरूले कुरा गर्ने भन्नुभएको छ । केही दिन कुर्नुपर्छ । कुरा मिलेमा ठीकै छ, नमिलेमा अब कसरी जानुपर्छ त्यसमा हामीले छलफल गर्नेछौं । अहिले हामी क्यानबाट सकारात्मक कुरा आउने प्रतीक्षा गरिरहेका छौं । यदि, कुरो नमिलेमा यो दुर्भाग्य हुनेछ र आगामी दिनमा ब्याट र बल छाड्ने वातावरण बन्दै जानेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले पनि यस विषयमा बोलेका छन् । उनले खेलाडीकै समर्थन गर्दै बताए—खेलाडीलाई गरिएको व्यवहार ठीक छैन । उनीहरूले न्याय पाउनुपर्छ । क्यानले निर्णयप्रति पुनर्विचार गरेर न्याय दिनेछ भन्ने मेरो अपेक्षा पनि छ । अर्कोतिर क्यानको निर्णयप्रति केही खेलाडीले पनि सांकेतिक भाषामा विरोध गरेका छन् । करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा र रोहित पौडेलले सामाजिक सञ्जालमार्फत् कारबाहीमा परेका खेलाडीप्रति समर्थन जनाएका हुन् । उनीहरुले आ–आफ्ना सामाजिक सजालमा आई एम डन टू (मलाई पनि पुग्यो ) लेख्दै क्यानको निर्णयप्रति असन्तुष्ट जनाएका छन् ।
क्यानको भनाइ
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने खेलाडीले अनुशासनहिन बन्न नहुने बताए । उनले भने—कप्तानको काम टोलीलाई एकजुट बनाएर लग्नुपर्ने हो । तर, उनले टोलीमा गुट उपगुट बनाएको प्रमाणसहित भेटभएपछि नै कारबाही गर्नुपरेको हो । खेलाडीको काम खेल्ने हो ।
११ बुँदे मागपत्र
क्यान र खेलाडीबीच खेलाडीको वर्गीकरणको विषयमा विवाद भएको हो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमलले मिडियामा गएर क्यानविरुद्ध ग्रेडिङको विषयमा बोलेका थिए । यसैमा क्यानले अनुशासन किन तोडेको भन्दै स्पष्टीकरण माग गरियो ।
तर, खेलाडीले हस्ताक्षरसहितको ११ बुँदे मागपत्र क्यानमा बुझाए । त्यहीबाट खेलाडी र क्यानबीच शीतयुद्ध शुरू भयो । क्यानले कार्यवाहक सचिव प्रशान्त मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिको अनुशासन छानबिन समिति बनायो । उक्त समितिले खेलाडीले अनुशासन गरेको ठहर गर्दै बोर्ड बैठकमा कारबाहीको सिफारिस गर्यो । उक्त प्रतिवेदनको आधारमा कात्तिक २९ गते उनीहरूलाई कारबाही गरेको निर्णय उनीहरूको हातमा ठम्याइदियो ।
प्रतिक्रिया