आजबाट बालबालिकालक्षित खोप अभियान शुरू

आजबाट मोर्डना र १३ गतेबाट फाइजर खोप दिइने



काठमाडौं ।

सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिने भएको छ । ३ वटा प्रदेशका ८ वटा जिल्लामा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाउने भएको छ ।

ती ८ जिल्लामा वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

आजबाट शुरू हुने अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले हेटौंडा उप–महानगरपालिकाको भुटनदेवी माध्यमिक विद्यालयबाट बिहान १० बजे गर्ने कार्यक्रम छ । त्यसै गरी स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गर्नेछन् । मन्त्री खतिवडाले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा अभियान जारी रहने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आफैं अध्ययन गरेको ऐतिहासिक विद्यालयबाट अभियानको शुरु गर्दै छु ।’
यसैबीच मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले बालबालिका लक्षित खोप अभियानको तयारी पूरा भइसकेको बताउनुभयो । उहाँको अनुसार धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई तीनवटा विद्यालयको मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइनेछ ।

डा. मिश्रका अनुसार यसअघि फाइजर खोप दिएका जिल्लामा सोही खोप र अन्यमा मोर्डना खोप लगाइनेछ । मन्त्रालयले थप १२ जिल्लामा दोस्रो चरणको फाइजर खोप अभियान चलाउने भएको छ । फाइजर खोप सञ्चालन हुने १२ जिल्लामा प्रदेश–१ को झापा, मोरङ र सुनसरी, २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वाग्लुङ, लुम्बिनी प्रदेशको रूपन्देही वाग्लुङ, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ वटा जिल्ला रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयका प्रधानध्यापकसँग समन्वय गरी तथ्यांक संकलन गरी खोप लगाइने जनाएको छ । थोरै विद्यार्थी भएका विद्यालयमा केही विद्यालयसमेत जोडेर एउटैमा र २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा केन्द्र कायम गरी खोप दिइनेछ ।
मन्त्रालयले जारी गरेको सूचनामा विसं २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मेका वालबालिकाका लागि खोपको व्यवस्था गरिएको छ । १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका २० जिल्लामा फाइजर खोप दिइने जानकारी दिँदै दुवै खोप पूर्णरूपमा सुरक्षित भएकाले ढुक्कसँग बालबालिकालाई खोप लगाउन पे्ररित गर्न सार्वजनिक अपिल गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले सरकारले कसैलाई पनि भेदभाव नगरीकन विद्यालयमै केन्द्र कायम गरी खोप व्यवस्था गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अभियानलाई निरन्तर रूपमा अघि बढाउन आग्रह गर्नुभयो । अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकारले आजबाट अभियानकै रूपमा खोप कार्यक्रम अघि बढाएर करिब २५ लाख विद्यार्थीलाई राहत दिएको बताउनुभयो ।

आजबाट अभियान शुरू हुने जिल्लामा प्रदेश–१ को ११, २ को ५, वागमतीको ७, गण्डकी, लुम्बिनी र कर्णालीको प्रदेशको ९–९ र सुदूरपश्चिम प्रदेशको ७ वटा गरी ५७ जिल्ला रहेका छन् ।

हाललाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको प्रतिवेदनको आधारमा अध्यागमन विभागले ६७ वटा मुलुकबाट आएकालाई ७ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने सूचना जारी गरेको थियो ।

गत मंसिर १३ गतको मन्त्री परिषद्को बैठकले ९ वटा अफ्रिकी मुलुकबाट नेपाल प्रवेश गर्न रोक लगाएको थियो । सोही बैठकले ओमिक्रोन संक्रमितको अवस्था विश्लेषण गरी १५–१५ दिनमा सरकारलाई प्रतिवेदन बुझाउने र सोही सूचनाको आधारमा विभागले अवस्था सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

विभागले स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको प्रतिवेदनको आधारमा शुक्रबार मात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था निर्णय गरेको थियो । तर, सरोकारवाला निकायसँग छलफल गर्दा सीसीएमसीको बैठक बसेर मात्र निर्णय गर्ने सहमति भएपछि हाललाई सूचना स्थगित गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले हतारमा सूचना सार्वजनिक गरेका होइनौं, स्वास्थ्य तथा जनसंख्या मन्त्राललयको प्रतिवेदनको आधारमा सूचना जारी गरेका थियौं । तर, सरोकारवाला मन्त्रालयको निर्देशनपछि हाललाई सो सूचना स्थगित गरेका हौं ।’

विभागले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ । सम्भवतः सोमबार बस्ने सीसीएमसीको बैठकले ६७ वटा मुलुकबाट नेपाल आएका सबैले क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न तयारी गरेको छ ।

विभागले जारी गरेको सूचनामा ६७ देशबाट आएका यात्रुले आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिभ आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्