नगरकोट सडक नबनेपछि स्थानीय आन्दोलित


पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नगरप्रमुख सोमप्रसाद मिश्रले दवाबमूलक कार्यक्रम अन्तर्गत पुस ७ गते सडक निर्माण अलपत्र पर्नुका कारणबारे सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने जानकारी दिनुभयो । त्यस्तै पुस ११ गते जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।उहाँले ठेकेदार कम्पनीको कार्यालय र निवास घेराउ, काठमाडौंको माइतीघर मण्डलामा धर्ना र अरनिको राजमार्गमा चक्का जाम जस्ता आन्दोलन कार्यक्रम तय गरेको जानकारी दिनुभयो । पहिलो तीन दिनको कार्यक्रमले पार्ने प्रभाव र प्रतिक्रियालाई विश्लेषण गरी पछिल्ला कार्यक्रमको मिति तय गरिने उहाँले बताउनुभयो ।

नगरप्रमुख मिश्र र उपप्रमुख विणा बास्तोलासहितको टोलीले गत कार्तिक १५ गते ३० दिन भित्र सो सडकको निर्माण कार्य सम्पन्न नभए आन्दोलन गर्ने व्यहोरोको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाएको थियो ।उहाँले ठेक्का रद्द गरेर सो सडक निर्माणको जिम्मा नगरपालिकालाई दिन माग समेत गर्नुभयो । कमलविनायकदेखी नगरकोटसम्मको करिव १६ कलिोमिटर लामो उक्त सडक सुधार एवम बिस्तारको लागि भारतीय निर्माण कम्पनी एआईपिएल र नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सनले संयुक्तरुपमा ठेक्का लिएको थियो ।

कुल ५२ करोड ९६ लाख रुपैंया लागतको उक्त सडक एआईपिएल र सैलुङ्गले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरु भएको उक्त सडकको पटक पटक गरी ७ पटक म्याद थप भइसकेको छ ।ठेक्का म्याद थपसँगै लागत समेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम रु ३५ करोड ८७ लाख १८ हजार रहेको छ । हाल सो सडकको निर्माण करिव ७८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।