दुर्गम र विकट क्षेत्रका पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास


म्याग्दी ।

सूचना तथा प्रसारण विभागको आयोजनामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ ।

जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखासँगको सहकार्यमा दुई दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र वितरण तथा नवीकरण सेवा दिइएको सूचना विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले जानकारी दिनुभयो ।

“१३ लाई पत्रकार परिचयपत्र प्रेस पास वितरण, सात वटा पत्रकार परिचयपत्र नवीकरण र एक प्रेस पास प्रतिलिपि जारी भएको छ”, उहाँले भन्नुभयो, “म्याग्दीका तीन र मुस्ताङका एक नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् ।

” म्याग्दीबाट सञ्चालन हुने तीनवटा अनलाइन नवीकरण भएको छ । मुस्ताङ र म्याग्दीका २३ पत्रकारलाई प्रशिक्षक डा विजय मिश्रले क्षमता अभिवृद्धि तालिम दिनुभएको थियो । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताउनुभयो ।