धान खरिद शुरू, आधा बढी ‘रिजेक्ट’



बाँके ।

किसानको चर्को दबाबपछि नेपालगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद शुरू गरेको छ । कम्पनीले गतवर्ष भन्दा आधा कम कोटा तोकेर धान खरिद गरेको थियो ।

बजारको भन्दा ‘धेरै’ मूल्य तोकेर धान खरिद गरेको कम्पनीले आइतबार पहिलो दिन नै आधा बढी धान गुणस्तर नपुगेको भन्दै फिर्ता गरेको छ । कम्पनीको नेपालगन्ज कार्यालयका प्रमुख रामबहादुर विष्टका अनुसार यसपालि २५ हजार क्विन्टल धान खरिद गर्दै छ । त्यसमा २० हजार क्विन्टल मध्यम र ५ हजार क्विन्टल मोटा धान रहेको छ । गतवर्ष यो कार्यालयले ५० हजार क्विन्टल धान खरिद गर्ने भनेकोमा ४७ हजार ८ सय क्विन्टल खरिद गरेको थियो ।

कम्पनीले मध्यम धान २ हजार ९ सय २ रुपियाँ र मोटा धान २ हजार ७ सय ५२ रुपियाँमा खरिद शुरु गरेको छ । जबकि बजारमा धानको मूल्य २ हजार आसपासमा रहेको छ । कम्पनीले गुणस्तरमा कडाई गरेको छ । कम्पनीले पानीले भिजेको, टुसा देखिएको धान खरिद नहुने जनाएको छ ।

यसपालि कात्तिकमा परेको बेमौसमी वर्षाले धानमा ठूलो क्षति पुर्याएको थियो । त्यति बेला धान पाकिसकेको थियो । किसानले धान कतै काटिसकेका थिए त कतै काट्ने तरखरमा थिए । तीन दिन परेको अविरल वर्षाले धानमा ठूलो क्षति पुर्याएको थियो । खेतमा डुबेको या भिजेको धान गुणस्तरीय हुँदैन । किसानले ल्याएका यस्ता धान कम्पनीले खरिद नगरेर फिर्ता गरेको छ ।

कम्पनीका प्रमुख विष्टले पहिलो दिन नै भिजेको धान सुकाएर ल्याएको र केहीमा टुसासमेत देखिएकाले आधाजति फिर्ता गरिएको बताउनुभयो । ‘हामीले हिमाली तथा पहाडी जिल्लाका मानिसलाई धान कुटेर चामल पठाउने हो । गुणस्तरहीन धान लिने कुरै आउँदैन’, विष्टले भन्नुभयो– ‘पहिलो दिनको हेर्दा गुणस्तरीय धान धेरै आउने देखिँदैन ।’

बाँकेमा ८ सय २५ जना किसानसँग धान खरिद गरिँदै छ । यी ८ सय २५ जना किसानलाई धान बिक्रीका लागि कुपन वितरण गरिएको छ । एक जना किसानले बढीमा ३० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रले धान बिक्रीका लागि किसानलाई कुपन वितरण गरेको छ । शुक्रबार कुपन वितरण हुँदा किसानको ठूलो भीडले कार्यालयको मुख्य प्रवेशद्वार भत्काइदिएको थियो भने प्रहरीलाई कुपन बाँड्न सकस भएको थियो ।

कम्पनीले गुणस्तरीय धान आएमा कोटा थप गर्न सकिने जनाएको छ । कम्पनीका प्रमुख विष्टले हामीले खोजेको जस्तो गुणस्तरीय धान आइरह्यो भने कोटामा थप–घट गर्न सकिने बताउनुभयो । कात्तिकको बेमौसमी वर्षाले ठूलो मात्रामा धानबालीमा नोक्सानी गरेकाले कम्पनीले यसपालि धान खरिदको कोटा घटाएको छ । नेपालगन्जमा मात्रै नभएर देशभरकै कार्यालयबाट धान खरिद यसपालि कम हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्