‘पाहुनालाई ढिँडो’अभियान सञ्चालन गरिने



बागलुङ ।

समुदायमा पछिल्लो समय बढ्दै गएका आयातीत खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धनका लागि बागलुङको एक सहकारीले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्ने भएको छ ।

आदर्श सञ्चार सहकारीले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिँडो अभियानअन्तर्गत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको हो । संस्थाको वार्षिक साधारणसभाले बागलुङ जिल्लामा सञ्चालित घरबास कार्यक्रमसँग समन्वय गरी स्थानीय खानाको प्रवद्र्धनका लागि पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

दुर्गमभन्दा दुर्गम ठाउँमा पनिखाजा, खानाका रूपमा आयातीत खाद्यान्न, प्याकिङ तथा जंकफुडको प्रयोग बढ्दै गएको र त्यस्ता प्रकारका खानाले मानिसको स्वास्थ्य र आर्थिक अवस्थामा असर परेकाले यसलाई न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ संस्थाले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोग घट्दै गएको, उत्पादनबाट श्रमशक्ति छुट्दै गएको, बालबालिकादेखि जेष्ठ नागरिकसम्म, घरको भान्सादेखि मेलापातमा समेत चाउचाउ, चिउरा, विस्कुटलगायतका खाद्यवस्तुको प्रयोग अत्यन्तै बढेको छ, अध्यक्ष जिसीले भन्नुभयो– ‘अजिनो मोटो, इष्टजस्ता औषधीको प्रयोग गरेका वस्तु खानाले मानिसहरूलाई दीर्घ रोग हुनुका साथै वचत गर्न सकिने पैसा समेत खर्च हुने गरेको छ, यसलाई नियन्त्रण गर्नका लागि व्यापक जनचेतना आवश्यक पर्छ ।’

बागलुङमा सञ्चालनमा रहेका होमस्टेहरूसँग समन्वय गरेर सहकारीले जिल्लाव्यापी रूपमा स्थानीय खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको उहाँको भनाइ छ । कतिपय होमस्टेहरूले समेत बाहिरबाट आएको खाना पाहुनालाई खुवाउने गरेको भन्दै उहाँले अब होमस्टे मात्रै होइन, प्रत्येक घरमा आउने पाहुनालाई ढिँडोलगायत घरमै उत्पादित चिज खुवाउन सन्देश दिने गरी कार्यक्रम अगाडि बढाउने संस्थाले योजना रहेको छ । बागलुङ नगरपालिकाको १, बरेङ गाउँपालिकाको १, काठेखोला गाउँपालिकाका ८, जैमिनी नगरपालिकाका ५, गलकोट नगरपालिकाका ४, ताराखोला गाउँपालिकाका २ र ढोरपाटन नगरपालिकाका ७ वटा होमस्टेसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउने तयारी गरेको उहाँले बताउनुभयो ।

गाउँघरमा उत्पादन हुने खाद्यान्न, तरकारीलगायत फलफूललाई व्यवस्थित रूपमा संकलन, भण्डारण र विक्रीवितरणको व्यवस्था मिलाउनका लागि स्थानीय तह, वडा कार्यालयहरू र सहकारी संघ संस्थालगायत उपभोक्ता समूहलाई क्रियाशील बनाउन पनि संस्थाको अभियान प्रभावकारी हुने अध्यक्ष जिसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्