कारुणिक दुर्घटना, हराउँदै मानवता

पाँच महिनामा १ सय २४ घटना, १८ को निधन



काभ्रे ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने अनि दुर्घटना भएपछि मानवता समेत बिर्संदै चालकहरू बेपत्ता हुन थालेपछि प्रहरीले ‘स्ट्रिङ अपरेसन’, ‘सरप्राइज चेकिङ’ गरी ३३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा चालक, सहचालक र होटल सञ्चालक रहेका छन् ।

मंसिर २५ गते राति साढे ११ बजे अरनिको राजमार्गस्थित बनेपामा रोशी गाउँपालिका–४ का ३७ वर्षीय चतुरमान तामाङलाई ठक्कर दिई भागेका मण्डनदेउपुर नगरपालिका–१२ बस्ने दुर्गाबहादुर तामाङको दुई दिनपछि मंसिर २७ गते मात्रै प्रहरीले पहिचान गर्न सफल भयो । बनेपामा ठक्कर दिई भागेका तामाङले वागमती प्रदेश ०१–००६ ख २८०५ नम्बरको ट्रिपर गाडी चलाएका थिए । उनले चलाएको टिपरको ठक्करबाट दुर्गाबहादुरलाई धेरै मिटर परसम्म घिसारेर लगेको सीसीटिभी फुटेजमा देखिन्छ ।

उनी बनेपामा घटना गराएर घरमा बाबुको किरियामा बसेका थिए । प्रहरीले उनलाई किरिया गरेकै स्थानबाट पक्राउ गरी मुद्दा दर्ता गरेको छ । ट्रिपरले ठक्कर दिएको, ठक्करपछि मान्छे सडकमा ढलेको देखेका अन्य सवारी साधनले समेत उठाउने तथा प्रहरीलाई खबर गरेनन् । घाइते तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ६ महिना र ३ वर्षका दुई बच्चा रहेका तामाङको बुधबारसम्म शव आफन्तले जिम्मा लिएका छैनन् ।

जिल्लामा भएका केही घटनामा मानवीय संवेदनासमेत नराखी चालकहरूले व्यक्तिलाई ठक्कर दिएर फरार भएको प्रहरीले बताएको छ । ‘कारुणिक घटना भएका छन्, मानवीय संवेदनासमेत नराखी चालक फरार हुने गरेका छन्’, प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले भन्नुभयो– ‘फरार सबै चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।’ सरोकारवाला निकाय तथा व्यक्तिसँग जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक सुरक्षा र नागरिकको दायित्व विषयक अन्तक्र्रिया आयोजना गरी जिल्लामा साउनदेखि मंसिर महिनासम्म भएका दुर्घटना, दुर्घटनामा चालक तथा अन्य सरोकारवालाहरूको संलग्नता र दायित्वका बारेमा जानकारी गराएको थियो । ‘२०७८ साउनदेखि मंसिर महिनाको अन्त्यसम्ममा जिल्लामा १ सय २४ वटा दुर्घटना भएका छन्’, प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले भन्नुभयो– ‘मंसिर महिनामा मात्रै ३४ वटा दुर्घटनामा जनाले ज्यान गुमाएका छन् । पाँच महिनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।’

दुर्घटना भएकामध्ये २२ वटा घटनाको मुद्दा दर्ता भएको छ भने २२ जना सख्त घाइते भएका छन् । ३९ जना मध्यम घाइते भए भने ६७ जना सामान्य घाइते भएका छन् । ६ जनाको अंगभंग भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ठक्करका कारण मृत्यु हुनेमा १० वर्षमुनिका ४ जना बालबालिका छन् भने ७५ वर्षका ज्येष्ठ नागरिकसमेत छन् ।

रातिको समयमा ट्रिपर चल्न थालेपछि राजमार्गमा खुल्ने होटलहरूमा रोकेर खाना खाने, खानासँगै मादक पदार्थ सेवन गर्ने र केहीबेर रोकेर जुवासमेत खेल्ने गरेको प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो । ‘मंसिर २८ गते राति साँगादेखि पाँचखालसम्म ५० जना प्रहरी टोलीले १३ वटा पसलमा गरेको सरप्राइज चेकिङमा ३३ जना पक्राउ परेका छन्’, प्रवक्ता डीएसपी खतिवडाले भन्नुभयो– ‘तीमध्ये ४ जना जुवा खेलिरहेको समयमा ८० हजार नगदसहित पक्राउ परे भने १३ जना होटल सञ्चालक र बाँकी चालक सहचालक छन् ।’

होटल सञ्चालकहरुले सवारी चलाउने चालकलाई मादक पदार्थ सेवन गर्न सहज रूपमा उपलब्ध गराएको भन्दै प्रहरीले १ हजार लिटर घरेलु मदिरासमेत बरामद गरेको छ । रातिको समयमा जसरी चलाए पनि हुन्छ, जे गरे पनि हुन्छ सडक टिपरको मात्रै हो भन्ने सोच राखेर चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेकाले दुर्घटना वृद्धि भएको प्रहरीको निष्कर्ष छ । प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले दुर्घटनाबाट बालबालिका टुहुरा भएका, नागरिक अपाङ्ग र अंगभंग भएका, महिला विधवा भएका, नागरिक बेवारिसे भएका र अपराध कर्ममा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

प्रहरीले राजमार्गमा सञ्चालन भएका होटल सञ्चालकलाई चालकहरूलाई मादक पदार्थ बिक्री नगर्न अनुरोध गरेको छ । पक्राउ परेकाहरूमध्ये जुवा खेल्ने चार जना बाहेकलाई आफन्तको जिम्मा लगाउँदै सचेत गराएको प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताउनुभयो ।

वागमती ट्रिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले चालकले लाइसेन्स लिएर मान्छे मार्ने अधिकार नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्