जलवायु परिर्वतनको प्रभाव : नदी–खोलाकिनारका बस्ती उच्च जोखिममा

0
Shares

पर्वत ।

जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्तीहरू उच्च जोखिममा पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्तीहरु उच्च जोखिममा परेका हुन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको अनुसन्धानले तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढी–पहिरोका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको अध्ययनले देखाएको छ ।

कालीगण्डकी नदीको सतह बर्सेनी वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका हुन् । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले जलवायु परिवर्तनले पुर्याउने क्षति न्यूनीकरण गर्न दिगो अनुकूलनका योजना अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको असर पछिल्लो समय मुस्ताङले भोग्नुपरेको बताउँदै यसको दिगो समाधानका उपाय खोजी गर्न पनि आग्रह गर्नुभयो ।

मुस्ताङमा एक महिना पहिले मानापाथी हिमालमा हिउँपहिरो गएको थियो । २०२८, २०५२, २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षतिका साथै थुप्रै याकचौरी मरेका थिए । आठ वर्षअघि वारागुङको तिरीमा बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो । मुस्ताङको जमिन खोकुलो र पानी पर्नासाथ बग्ने भएकाले बढी वर्षा हुँदा पहिरो जाने गर्दछ । हिमालको फेदीमा रहेका हिमतालमा हिउँ पग्लेर थुप्रिन थालेपछि फुट्ने खतरा बढिरहेको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक जलवायु परिवर्तनकै कारण भारी वर्षा हुन थालेपछि मुस्ताङका परम्परागत माटोका घरहरु जोखिममा पर्न थालेका छन् भने यहाँका रैथाने बालीलाई समेत बसाइँ सार्न थालेको भन्दै सरोकारवालो पनि चिन्ता व्यक्त गरेका छन् । जलवायु परिर्वतनकै कारण स्याउबालीमा विभिन्न प्रकोप देखिन थालेको छ भने स्याउखेती नहुने उपल्लो मुस्ताङमा स्याउखेती हुन थालेको छ ।

अनुसन्धानमा संलग्न रूपान्तरण नेपालले जलवायु परिवर्तनका कारण वन तथा जलाधार क्षेत्रमा पुर्याएको फिल्डस्तरीय अध्ययन तथा तथ्यांक संकलन गरेका छन् । अध्ययन कार्यदलले वारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरुमा वन तथा जलाधार क्षेत्रमा पुर्याएको असरका बारेमा समुदायस्तरबाट समस्या पहिचान गरिएको कार्यदलका सदस्य निरज अधिकारीले जानकारी दिनुभयो । मुस्ताङमा जलाधार क्षेत्रहरु अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्याएका छन् । मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ ।