डडेल्धुरा अस्पतालमा १ हजार ३ सय ५३ कर्मचारी आवश्यक

0
Shares

डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको विशिष्ट विशेषज्ञ सेवासहितको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालले १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न संघीय सरकारसँग माग गरेको छ । तत्कालीन टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई मर्ज गरेर बनाइएको उपक्षेत्रीय अस्पताललाई संघीय अस्पतालका रूपमा स्तरोन्नति गरिएको लामो समयसम्म कर्मचारी अभाव भएकाले कर्मचारीको माग गरिएको हो ।

अस्पतालमा उपकरण व्यवस्थापन र भौतिक पूर्वाधार विकास निर्माण भइरहेको भए पनि अस्पतालको उद्देश्यअनुरूप कर्मचारी अभाव हुँदा सेवा विस्तार गर्न सकिरहेको छैन । सात सदस्यीय संगठन संरचना एवं दरबन्दी पुनरावलोकन कार्यदलले तयार गरेको प्रतिवेदनमा पाँच सय बेड वा सोभन्दा बढी शैय्याको अस्पताल सञ्चालन गर्नका लागि ठूलो संख्यामा थप नयाँ दरबन्दी स्वीकृतिका लागि अनुरोध गरेको डडेल्धुरा अस्पताल प्रशासनले जनाएको छ । कार्यदलले सहायक स्तरको कर्मचारीदेखि ११औं तहका निर्देशक मातहत हुने गरी अन्य प्रमुख कन्सल्टेन्टहरु र थप विशेषज्ञ जनशक्ति आवश्यकता रहेको विस्तृत विवरणसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पहलका लागि अनुरोध गरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले बताउनुभयो ।

‘ओएमएन सर्भे गरेर थप कर्मचारी माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको आठ दिन भयो । मन्त्रालयबाट जवाफ आउन केही समय लाग्छ होला’, उहाँले भन्नुभयो– ‘कर्मचारी अभावमा सेवाप्रवाहमा निकै कठिनाई भइरहेकाले थप दरबन्दी सिर्जना गरी कर्मचारी माग गरेका छौ । कर्मचारी अभावमा अस्पतालले उद्देश्य अनुरूपका कुनै पनि सेवा प्रवाह गर्न सकिरहेको छैन ।’

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक हीराकुमारी निरौलाको संयोजकत्वमा रहेको संगठन संरचना एवं दरबन्दी पुनरावलोकन कार्यदलले भावी संगठनको विस्तृत अध्ययन तथा छलफलपश्चात् ११औं तहको ३८ जना, नौ र दसौं तहको १ सय १५ जना, आठौं तहका १ सय ३२ जना, सातौं र आठौंं तहका ७३ जना, चौथो, पाचौं, छैटांै र सातांै तहका नौ सय ६६ जना प्राविधिक कर्मचारीको दरबन्दी र उपसचिव स्तरको कर्मचारीको प्रशासनिक नेतृत्वमा रहने गरी राजपत्राङ्कित द्वितीय श्रेणीसहित ४० जनाको प्रशासनिक दरबन्दीको प्रस्ताव गरिएको कार्यदलले जनाएको छ ।

हाल तत्कालीन उपक्षेत्रीय अस्पतालको संगठन संरचनामा श्रेणीविहीन कर्मचारीसहित १ सय ९ जनाको दरबन्दी मात्रै रहेको कार्यदलका सदस्य प्रकाशचन्द्र बुढाऐरले बताउनुभयो । अस्पतालले सुदूरपश्चिमका सात पहाडी जिल्लाको रिफरल अस्पतालका रूपमा सेवा प्रदान गर्नुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका–२०७० र स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्डबमोजिम थप जनशक्ति माग गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

डडेल्धुरा अस्पतालमा चिकित्सा विज्ञान प्रतिष्ठान स्थापनार्थ केही समयअघि प्रारम्भिक अध्ययन टोलीले अध्ययन गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकाले पनि यहाँका सरोकारवालाले डडेल्धुरा अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान वा मेडिकल कलेजका रूपमा सञ्चालनार्थ पहल थाल्नुपर्ने बताएका छन् ।