विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासीय नेपाली संघका सदस्यसँग गृह मन्त्रालयमा बिहीबार भएको छलफलमा गृहमन्त्री खाँणले नेपालका नागरिकले भोग्नु परिरहेको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभएको हो ।

उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, गैरआवासीय नेपालीमार्फत विदेशी लगानी नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेलिकेटेट डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्नेलगायतका विषय समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

छलफलकै बीचमा गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या समस्या अविलम्ब समाधान गर्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिंदै भन्नुभयो– ‘अन्तर्राष्ट्रिय विमालस्थलमा धेरै समस्या देखिएको छ, त्यसलाई अविलम्ब सुधार गर्नुहोला ।’ विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरणसँग सम्बन्धित मन्त्रीहरूको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिनुभयो ।

त्यस्तै, गृहमन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सूचना सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिनुभयो । छलफलमा सहभागीहरूले अन्य विषयगत अस्पताल जस्तै एनआरएनहरूका लागि पनि अस्पताल खोल्ने व्यवस्था गर्ने पहल गरिदिन आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री खाँणले जग्गा भेटिएपछि सरकारले केही पैसा लगानी गर्नसक्ने बताउनुभयो ।

गैरआवासीय नागरिकलाई संविधानमा गरिएको व्यवस्थाबारे सरकार सकारात्मक रहेको र संविधानअनुरूप प्रक्रिया शुरु गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले ‘एकपटकका नेपाली सधैंका नेपाली’ बनाउनेबारे पनि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीलाई नेपालमा थोरै–थोरै भए पनि लगानी गर्न आग्रह गर्दै त्यसका लागि कानुनी उल्झन भएमा फुकाउन आफूले पहल वचन पनि दिनुभयो ।

बैठकमा गृहसचिव पाण्डेले अरेबिया, साइप्रसलगायतका मुलुकमा देखिएको समस्याबारे सरकार सचेत रहेको बताउनुभयो । एनआरएनएका नेता कुल आचार्य, जनसम्पर्क समिति अमेरिका महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, भारतबाट महाधिवेशन प्रतिनिधि तथा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेलगायत विभिन्न मुलुकमा बस्ने नेपालीले आफ्ना समस्याहरूका बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

जनसम्पर्क समिति साइप्रसकी सभापति सीता अर्यालले गृहमन्त्री खाँणलाई त्यहाँ राजदूताबास नभएको र त्यहाँ रहेको कन्सुलर कार्यालयको अधिकार नहुँदा नेपालीले धेरै समस्या झेल्नु परेको बारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्