राजनीतिक पुँजी बचाएर राख्न राजीनामा : रिजाल

0
Shares

काठमाडौं, (नेस) ।

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिँदै नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडि बढ्न सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रिजालले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठूलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित हुनुभएकाले उहाँका लागि यो महत्वपूर्ण अवसर रहेको उल्लेख गर्दै रिजालले बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिनुभएको हो । उहाँले बग्रेल्ती चुनौती र अद्भूत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताउनुभएको छ ।

डा. रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिक रूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको उल्लेख छ ।

‘अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैंलाई झूटो बोलेर सान्त्वना दिनु उचित हुन्न’, पत्रकार सम्मेलनमा डा. रिजालले भन्नुभयो– ‘आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पुँजी बचाएर राख्नका लागि पनि राजीनामा दिएको हुँ ।’

१८ वर्षदेखि पार्टीको केन्द्रीय कार्यसमितिमा रहेका रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति संकेत गर्दै भन्नुभयो– ‘राजनीतिमा नहुने निर्णय गरें भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसुस भएको छ ।’

उहाँले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैं रोज्दै जाने पनि बताउनुभयो ।

उहाँले पाँच जना निर्वाचित हुँदा ८० वर्ष पुग्दै गरेका, ४० वर्ष भर्खर नाघेका र बीचका नेताको समिश्रणको टिम बनेको बताउँदै बढी युवाको अनुहार आएको, त्यसले सबै कांग्रेस र पाको नेतालाई एउटा सन्देश दिएको बताउनुभयो । उहाँले अढाइ महिनाको रक्षा मन्त्रालयको बसाइ स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।