कांग्रेसमा थापा र शर्माको उदय



 काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनले केन्द्रीय कार्यसमितिका लागि चयन गरेका नेताहरूको मतपरिणाम आउने क्रम जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा उपसभापति र महामन्त्रीको नतिजा सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूको मतगणना कार्य जारी छ । यसअघि सभापतिमा डा. शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः निर्वाचित भइसक्नुभएको छ ।

कांग्रेसको दुई उपसभापतिका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापतिका उम्मेदवारहरु विजयकुमार गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहलाई चुनावी मैदानमा हराउँदै खड्का र गुरुङ विजयी भएका हुन् । उपसभापतिमा विजयी भएपछि गुरुङले पुरानो अनुभव र नयाँको जोशलाई संयोजन गरेर पार्टीलाई अघि बढाउने बताउनुभएको छ । उहाँले पार्टीभित्र गुटबन्दीको अन्त्य गर्ने जिकिर गर्दै भन्नुभयो– ‘पार्टीभित्र भागवण्डा गर्दैनौं । सबै साथीहरूको न्यायोचित व्यवस्थापन गर्छौं ।’ उपसभापतिका विजेता खड्का सभापति देउवा प्यानलका उम्मेदवार हुन् भने गुरुङ डा. कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै, दुई महामन्त्रीका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महामन्त्रीका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की चुनावी प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी थापा कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट निर्वाचन लड्नुभएको थियो । उपसभापतिमा कोइराला प्यानलका भण्डारी र महामन्त्रीमा रिजाल पराजित भएका छन् । त्यसै गरी, देउवा प्यानलका उपसभापति पदका उम्मेदवार गच्छदार र महामन्त्री पदका डा. महत पनि पराजित भएका छन् ।

महामन्त्रीमा पराजित भएलगत्तै रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । महामन्त्रीमा विजयी भएका एउटै प्यानलका नेता थापाले ३ हजार २३ मत ल्याउँदा रिजालले ८ सय ९ मत मात्र पाउनुभएको थियो ।

महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले अब चार वर्ष इमानदारीपूर्वक परिपक्व ढंगले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो अधिवेशनबाट कांग्रेसको मुख्य नेतृत्व नै बदल्ने आफूहरूको चाहना भए पनि अधिवेशनले दिएको म्यान्डेटलाई स्वीकार्दै कांग्रेसलाई आम जनताको भरोसाको पार्टी बनाउन आफू केन्द्रित हुने नवनिर्वाचित महामन्त्री थापाको भनाइ थियो । अधिवेशनमा गाउँदेखि केन्द्रसम्म नेतृत्वका लागि भएको आन्तरिक प्रतिस्पर्धाले आफ्नै नेता कार्यकर्ताबीच पनि केही अविश्वास तथा मनमुटाव बढेको जिकिर गर्दै उहाँले पार्टीभित्र सबैको विश्वास जित्ने गरी आफू अगाडि बढ्ने बताउनुभयो । यसले गलत काम गर्यो भनेर एक दिन पनि गुनासो गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै थापाले भन्नुभयो– ‘मलाई एक दिन पनि बिग्रने, चुक्ने र थाक्ने सुविधा छैन ।’

महामन्त्रीमा निर्वाचित भएलगतै सुुन्दरीजल पुगी बीपीको शालिकमा माल्यार्पण गरेका शर्माले भन्नुभयो– ‘सबैको मन जित्ने गरी काम गर्छु । मलाई महामन्त्रीमा जिताउन मत दिनेहरूप्रति सम्मान छ, मत नदिनेहरूप्रति पनि सम्मान छ । मत नदिनेहरूको पनि मन जित्ने गरी काम गर्छु ।’ यसअघि देउवा प्यानलमा रहेका शर्माले यो महाधिवेशनमा महामन्त्रीको उम्मेदवार नबनाएपछि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । पार्टी प्रवक्तासमेत रहनुभएका शर्मा पार्टीभित्र प्रभावशाली र चर्चित नेताका रूपमा परिचित हुनुहुन्छ ।

कांग्रेसभित्र उपसभापतिभन्दा पनि महामन्त्रीको जिम्मेवारी बढी छ । कांग्रेस विधानमा सभापति, महामन्त्री र कोषाध्यक्षको काम, कर्तव्य र अधिकार उल्लेख गरे पनि उपसभापतिका लागि छुट्टै धारामा काम कर्तव्य र अधिकार छुट्टाइएको छैन । उपसभापतिको मुख्य भूमिका सभापतिले तोकेको एक उपसभापति केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिठानको प्रमुख हुने भएकाले यसको जिम्मेवारी कसले पाउँछ भन्ने चासो छ । यो प्रतिष्ठानको प्रमुख पद देउवा प्यानलका उपसभापति खड्काले पाउने निश्चित छ । खड्का देउवा प्यानलभित्र ‘थिंक ट्यांक’का रूपमा समेत परिचित छन् । उपसभापति प्रमुख रहने केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको काम कारबाहीबारे कांग्रेस नियमावलीको परिच्छेद १२ मा उल्लेख गरिएको छ । योबाहेक सभापतिले आफू विदेश गएका बेलामा वा आवश्यकताअनुसार कार्यवाहक सभापतिको भूमिका निभाउने गरी उपसभापति तोक्न सक्नेछन् ।

कांग्रेस पदाधिकारीमा महामन्त्री सभापतिपछि शक्तिशाली मानिन्छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय नै महामन्त्रीको मातहतमा रहने व्यवस्था छ । कांग्रेस विधानमा महामन्त्रीले केन्द्रीय कार्यालय सञ्चालन र रेखदेख गर्ने उल्लेख गरिएको छ । केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने जिम्मेवारी पनि महामन्त्रीको हुन्छ । पार्टीको संगठन र संरचनालाई क्रियाशील र प्रभावकारी बनाउने तथा पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकताअनुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन र सुपरीवेक्षण गर्ने÷गराउने कार्य पनि महामन्त्रीकै जिम्मेवारीभित्र पर्छ । कांग्रेस विधानमा केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने कार्यका साथै सदस्यता वितरण गर्नेलगायत १२ नं बुँदामा महामन्त्रीको काम कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ ।

नेतृत्वको कटु आलोचकका रूपमा रहेका नेताहरू धनराज गुरुङ र गगन थापा उपसभापति र महामन्त्रीमा निर्वाचित भएपछि देउवालाई पार्टी सञ्चालनका लागि अघिल्लो कार्यकालमा जस्तो जथाभावी गर्ने छुट नमिल्ने केन्द्रीय सदस्यका उम्मेदवार मधुप्रसाद आचार्य बताउनुहुन्छ । यो समाचार तयार पार्दासम्म पदाधिकारीमध्ये आठ सहमहामन्त्रीको मतगणना भइरहेको छ । पदाधिकारीको मतगणनापछि केन्द्रीय सदस्यको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना हुने व्यवस्था छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको हिजो साँझदेखि नै मतगणना शुरू भएको हो । दलित क्लस्टरको सहमहामन्त्रीमा देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । यो क्लस्टरमा गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । महिला क्लस्टरमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र कोइराला प्यानलबाट विकास लामा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्