पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो ।

नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो । नेता पौडेलले आफू र महामन्त्री डा शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताउनुभएको थियो ।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताउनुभएको थियो । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पार्नुभयो ।