पेन्टीभित्र ४८ ग्राम ब्राउन सुगर



बाँके ।

दाङ तुलसीपुरका गौरव बुढाथोकी जयसपुरमा स्कुटी राखेर सीमावर्ती भारतीय बजार रुपैडिहा गए । जयसपुर नेपालगन्ज नाका जमुनाहादेखि करिव एक किलोमिटर नेपालगन्जतर्फ पर्छ ।
गौरव साँझ ५ बजेतिर रुपैडिाहाबाट नेपालगन्ज फर्किए । कुनै सामान नलिएका गौरव हिँड्दै आइरहेका थिए । नेपालगन्ज नाकामा चौबीसै घण्टा बस्ने लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गौरवलाई शंका गर्यो । कुनै पनि सामान ल्याएको छैन । आखिर यो मान्छे किन रुपैडिहा गएर आयो ? प्रहरीले शंका घेरामा राख्यो ।

गौरवको शरीर छामछुम भयो । भित्री बस्त्र पेन्टीभित्र गौरवले दुईवटा पोका बनाएर लागूऔषधी ब्राउनसुगर राखेका रहेछन् । प्रहरीले गौरवलाई नियन्त्रणमा लियो र ब्राउन सुगर तौलियो । ब्राउन सुगरको तौल ४८ ग्राम थियो । दाङबाट ब्राउन सुगर लिन नेपालगन्ज हुँदै भारतीय बजार रुपैडिहा पुगेका गौरव प्रहरीको फन्दामा परे ।

गौरवले यसअघि तीनपटक यसरी नै भित्री बस्त्रमा राखेर लागूऔषधी ब्राउनसुगर लगिसकेको स्वीकार गरेका छन् । रुपैडिहा र नेपालगन्ज मानिसको आवत–जावत भइरहन्छ । किनमेल गर्न जाने, आफन्ती भेट्न जाने भइरहन्छ । रुपैडिहा पुगेका व्यक्तिले कुनै न कुनै सामान लिएर आउँछन् । किनकि, नेपालीको मानसिकता रुपैडिहामा सस्तो सामान पाइन्छ भन्ने रहेको छ ।

तीनपटक सफल भएको र आफ्नै स्टाइलमा कुनै सामान नलिई पेन्टीभित्र ब्राउनसुगर राखेर आइरहेका गौरव यसपटक प्रहरीबाट बच्न सकेनन् । गौरवले ४८ ग्राम ब्राउनसुगर १ लाख ६० हजारमा किनेर ल्याएका थिए । दाङमा लगेर महँगोमा बेच्ने उनको योजना थियो ।

पेन्टीभित्र ब्राउनसुगर बरामद भएको जमुनाहामा अर्को व्यक्तिको जुत्ताभित्र ७ ग्राम ब्राउनसुगर फेला पर्यो । बाँके राप्तीसोनारीका सुवास विक दाहिने जुत्ताभित्र राखेर ७ ग्राम ब्राउनसुगर ल्याउँदै गर्दा पक्राउ परेका छन् । लागूऔषधी नियन्त्रण ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय, जमुनाहा हुँदै दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगन्ज पठाएको छ ।

सीमावर्ती भारतीय बजारमा सस्तो र सहजरूपमा ब्राउनसुगर पाइने गर्दछ । रुपैडिहाको चकियारोड ब्राउनसुगर किनबेचको हब मानिन्छ । पछिल्लो समयमा भने बाबागन्ज आसपासमा कारोबार भइरहेको छ । रुपैडिहादेखि बाबागन्ज चार किलोमिटर टाढा पर्दछ । बाबागन्जमा रुपैडिहामा भन्दा सस्तोमा ब्राउनसुगर पाइने कारोबारीहरु बताउँछन् । रुपैडिहाको चकियारोड होस् या बाबागन्ज, नानपारा जहाँबाट ब्राउनसुगरको कारोबार भए पनि आइपुग्ने नेपालगन्ज नै हो । नेपालगन्जमा ल्याएपछि त्यो ब्राउन सुगरलाई देशका विभिन्न ठाउँमा पुर्याउने गरिएको देखिन्छ ।

कारोबारीले ब्राउन सुगर ओसार्न फरक–फरक तरिका अपनाएको पाइन्छ । महिला या पुरुषको भित्री बस्त्र, नाका, कान, मुख, सवारीसाधनको विभिन्न ठाउँमा ब्राउन सुगर राखेर ल्याउने गरेको पाइन्छ । जमुनाहा नाकामा चौबीसै घण्टा बस्ने लागूऔषधी नियन्त्रण ब्युरोको टोलीले कारोबारीलाई उसको हाउभाउका आधारमा चिन्ने गरेको छ । शंका लागेका व्यक्तिलाई भित्र लगेर जाँच गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्