विद्यार्थी विदेसिने क्रम रोकौं : सहकुलपति पौडेल



काभ्रे ।

हरेक वर्ष विद्यार्थी अध्ययन गर्न बिदेसिने क्रम रोक्न शिक्षामन्त्री देवेन्द्र पौडेलले आग्रह गर्नुभएको छ । काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

काठमाडौं विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरुले गुणस्तर तथा अवसरमा ध्यान दिनुपर्ने पौडेलले भनाइ थियो । ‘शिक्षालाई सीप र सीपलाई उत्पादनसँग जोडिनुपर्छ, समुदायमा जान सक्ने शिक्षाका लागि गुणस्तरीय प्राध्यापक छनोट गरिनुपर्छ’, उहाँले भन्नुभयो– ‘राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय निर्माण गरी गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ ।’

शिक्षा विकास र समृद्धिको मूल बाटो भएकाले दिगो विकास लक्ष्य प्राप्ति शिक्षाले मात्रै दिन सक्ने पौडेल बताउनुहुन्छ । काठमाडौ विश्वविद्यालयबाट दीक्षित सबै विद्यार्थी यही अभियानमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अनुपस्थितिमा सहकुलपति शिक्षामन्त्री देवेन्द्र पौडेलले कुलपतिले गर्ने दीक्षान्त प्रतिज्ञा गराउनुभएको थियो ।

समारोहमा कुलपति देउवाको शुभकामना मन्तब्य उपकुलपति डा. भोला थापाले वाचन गरेर सुनाउनुभएको थियो । कुलपति डा. भोला थापाले विश्वविद्यालय स्थापनार्थ संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले लिएको लक्ष्य र उद्देश्य प्राप्तिमा विश्वविद्यालय सक्षम हुँदै गएको बताउनुभएको थियो । काठमाडौं विश्वविद्यालय नलेज सेन्टरका रूपमा स्थापित भएको बताउँदै उपकुलपति डा. भोला थापाले वर्षेनी ६० देखि ७५ हजार नेपाली युवा विद्यार्थीको विदेश अध्ययनका लागि पलायन हुने र त्यो जनशक्ति विरलै मुलुक फर्कने गरेका कारण हरेक वर्ष कम्तीमा १ खर्ब रुपियाँ बाहिरिने क्रम रोक्न विश्वविद्यालयको शिक्षा सवल हुन आवश्यक रहेको बताउनुभयो ।

‘काठमाडौ विश्वविद्यालय पूर्वाधार, प्राज्ञिक जनशक्ति र पहुँचको विस्तारका लागि तयार छ’, उपकुलपति डा. थापाले भन्नुहुन्छ–‘सरकारले उदार मनले सघाउने हो भने मुलुकको आर्थिक तथा सामाजिक विकासमा थप उल्लेखनीय योगदान पुर्याउन हामी तत्पर र उत्सुक छौं ।’ दीक्षान्त समारोहमा पीएचडी गर्ने रविनराज निरौला, पारसमणि तिमल्सिना, दीपकप्रसाद बास्तोला, सुशीला श्रेष्ठ, दिवाकर विष्ट, राम लामा, सञ्जय हमाल, लिना गुरुङ, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले, दीपक खनाल र रोहितकुमार मिश्रलाई सहकुलपति पौडेलले उपाधि प्रदान गर्नुभएको थियो । भारतीय विश्वविद्यालय संघका महासचिव डा. श्रीमती पंकज मित्तलको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह भएको थियो ।

१ हजार ४ सय ४९ दीक्षित
काठमाडौं विश्वविद्यालयको पहिलो चरणको दीक्षान्त समारोहमा आट्र्स, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विद्याका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित हुनेछन् ।

तीमध्ये आट्र्सका २ सय ३४, एजुकेसनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, ब्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना रहेका छन् । दीक्षितमध्ये महिला ५१.५५ प्रतिशत अर्थात् ७ सय ४७ जना र ४८.४५ प्रतिशत ७ सय २ जना रहेका छन् । बंगलादेश, बेनिन, निदरल्यान्ड, भारत, श्रीलंका, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुस गरी ८ देशिका १ सय २३ जना विदेशी विद्यार्थी पनि दीक्षित हुनेछन् ।

विश्वविद्यालयको इतिहासमा पहिलोपटक मास्टर इन पब्लिक पोलेसी र म्यानेजमेन्टमा ११ जना, मास्टर इन इनर्जी इफिसिएन्ट बिल्डिङ डिजाइनमा ३ जना र मास्टर वाई रिर्सच इन सिभिल इन्जिनियरिङमा २ जना गरी १६ जनालाई काठमाडौं विद्यालयले उपाधि प्रदान गर्दै छ । २७औं दीक्षान्त समारोहसम्म ३६ हजार ६ सय २४ जना विद्यार्थीलाई दीक्षित गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्