८९ वर्षको उमेरमा पीएचडी हासिल


इस्ट प्रोविडेन्स ।

राडे आइलन्डका एकजना ८९ वर्षीय वृद्धले विद्यावारिधी अर्थात् पीएचडी हासिल गरी भौतिकशास्त्री बन्न सफल भएका छन् । म्यान्फ्रेड स्टेइनरले यस लक्ष्य प्राप्तिका लागि झण्डै दुई दशकसम्म थुप्रै मिहिनेत गरेका थिए ।

उनले हालै प्रोविडेन्सस्थित ब्राउन विश्वविद्यालयबाट सो सफलता हासिल गरेका हुन् । वास्तवमा उनको नाजुक स्वास्थ्य समस्याहरूका कारण पटक पटक उनको अध्ययनमा बाधाअड्चन पुगेको थियो । इस्ट प्रोविडेन्सस्थित आफ्नो निवास स्थानमा संचारकर्मीहरुसँग अत्यन्तै हर्षित मुद्रामा उनले भनेका छन्, ‘अन्तत कमजोर स्वास्थका बाबजुद मैले आफ्नो लक्ष्य पूरा गरिछाडें । यो मेरो जीवनकै सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धि हो ।’

अल्वर्ट आइन्स्टाइन र म्याक्स प्लान्ककाबारे पढेपछि उनी भियनामा किशोरावस्था बिताउने बेलादेखि नै एक सफल भौतिकशास्त्री बन्न चाहन्थे । उनी भौतिक शास्त्रको सटिकताका प्रशंसक थिए । तर, दोस्रो विश्व युद्धपछि उनकी आमा र काकाले समय परिस्थिति अनुसार मेडिसिन पढ्नु राम्रो हने सुझाव दिएका थिए ।फलतः सन् १९५५ मा उनले युनिभर्सिटी अफ भियनाबाट मेडिकल डिग्री हासिल गरे । त्यसको केही सातापछि नै संयुक्त राज्य अमेरिका पुगेका उनले रगतमा आउने खराबीहरूबारे अध्ययन गरी सफल करियर बनाएका थिए । स्टेइनरले मास्साचुसेत्स इन्स्टिच्युट अफ टेक्नोलोजीको टफ्टस युनिभर्सिटी एन्ड बायोकेमेस्ट्रिमा हेम्याटोलोजी अध्ययन गरे । त्यसपछि उनी ब्राउन युनिभर्सिटीमा हेम्याटोलोजिस्ट बने।

पीएचडीका लागि पुर्वाधार खडा गर्न उनले सत्तरी वर्षको उमेरमा ब्राउनमै भौतिक शास्त्रको अन्डरग्राज्युट कक्षा लिन शुरू गरेका थिए । सन् २००७ मा उनले पीएचडी कार्यक्रममा भर्ना हुन आवश्यक सम्पूर्ण योग्यता हासिल गरे । उनको परिवारमा उनकी सन् १९६० मा विवाह गरिएकी ९३ वर्षीया पत्नी सेइला , दुई सन्तान र छ जना नाति नातिना छन् ।