विप्रेषण आप्रवाह घट्यो



काठमाडौं, (नेस) ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५ दशमलव ७ प्रतिशतले घटेको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजारर ७२३ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८ दशमलव ९ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ७ दशमलव ४ प्रतिशतले कमी आई ३४५ अर्ब ६५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले बढेको थियो ।

गत असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आई कात्तिक मसान्तमा १२४४ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा कात्तिक मसान्तमा १० दशमलव ९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा कात्तिक मसान्तमा ११.० प्रतिशतले कमी आई११०७ अर्ब ४७ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई१३७ अर्ब ३८ करोड कायम भएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६ दशमलव १ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्