व्यापार घाटा ५६ प्रतिशतले वृद्धि



काठमाडौं ।

चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६ दशमलव ८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव ५ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार कुल वस्तु निर्यात १०४ दशमलव ३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४० दशमलव २ प्रतिशत, ७ दशमलव ३ प्रतिशत र २३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१ दशमलव ६ प्रतिशतले वृद्धि भई ६५० अर्ब २९ करोड रुपियाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दशमलव १ प्रतिशत, ५६ दशमलव ९ प्रतिशत र ११७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब २६ करोड बराबरको भएको थियो । सो अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४४ दशमलव १३ प्रतिशत र ५५ दशमलव ८५ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दशमलव शून्य २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्यवस्तुको अनुपात क्रमशः ३२ दशमलव ५२ प्रतिशत, शून्य दशमलव ९५ प्रतिशत र ६६ दशमलव ५३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव १ प्रतिशत, पुँजीगत वस्तुको ११ दशमलव १ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५० दशमलव ५ प्रतिशत, १२ दशमलव ९ प्रतिशत र ३६ दशमलव ६ प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा २०७८ कात्तिक महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक १० दशमलव ५ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक १६ दशमलव ६ प्रतिशतले बढेको छ । २०७७ कात्तिक महिनामा ५ दशमलव ३ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ कात्तिक महिनामा ५ दशमलव ३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय ३१ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५१ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २२३ दशमलव ५ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ८९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय १३७ दशमलव २ प्रतिशतले वृद्धि भई १९ अर्ब १५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १० अर्ब ७० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्