महिला सञ्चार उत्तरदायी निर्देशिका कार्यान्वयन गराउन अनुगमन शुरू



काठमाडौं ।

प्रेस काउन्सिल नेपालले सञ्चारगृहमा हुने लैंगिक हिंसा निर्मूलीकरणका जारी गरिएको महिला सञ्चार उत्तरदायी निर्देशिका कार्यान्वयन गराउन अनुगमन शुरू गरिएको जानकारी दिएको छ ।

प्रेस काउन्सिलले आयोजना गरेको ‘मिडियामा हुने महिला हिंसाको अवस्था र न्यूनीकरणको उपाय’ विषयक छलफलमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उक्त जानकारी दिनुभएको हो । उहाँले महिला सञ्चारकर्मीमाथि कार्यस्थलमा हुने दुव्र्यवहार र गुनासोको सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राखेको जानकारी दिँदै लैंगिक हिंसासम्बन्धी उजुरीको सुनुवाइमा प्रेस काउन्सिल र राष्ट्रिय महिला आयोगले समन्वय गरेर समाधान गर्ने बताउनुभयो । कार्यक्रममा उहाँले आयोगले आगामी दिनमा महिलामैत्री र पत्रकार आचारसंहिता जानको पत्रकार तयार गर्ने लक्ष्य लिएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सञ्चारकर्मीहरूलाई आफूमाथि भएको लैंगिक हिंसाका साथै आफ्नो जानकारीमा आएका यस्ता हिंसाको बारेमा तत्काल आयोगमा उजूरी दिन आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीहरूको सहयोग सञ्चारगृह तथा समाजमा लैंगिक हिंसा न्युनीकरण गर्न महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले आयोगमा आउने महिला हिंसाका उजुरीमध्ये ७५ देखि ८० प्रतिशत घरेलु हिंसा हुने र हिंसा आफ्नै नजिकका पुरुषबाट हुने गरेको देखिएकाले आगामी दिनमा लैंगिक हिंसाको अभिमुखिकरणको मोडल परिवर्तन गर्दै अभिमुखीकरणमा पुरुष सहभागिता बढाउनुपर्ने धारणा समेत राख्नुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सञ्चारगृहहरूमा लैंगिक हिंसाबारे उजुरी गर्ने उचित व्यवस्था नभएकोले यस्ता हिंसाहरू बाहिर आउन नसकेको बताएका थिए । कार्यक्रममा पत्रकार बबिता बस्नेत र काउन्सिलका सदस्य दुर्गा भण्डारीले लैंगिक हिंसा न्यूनीकरणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्