सुनसहित ५ बंगलादेशी नागरिक पक्राउ



काठमाडौं, (नेस) ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट बिस्कुट आकारको चेनरोल, ‌औंठी र चुरा बरामद गरेको थियो । पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिक तौहिदुल तनविर, एमडि युनुस अलि, सोभान तालुकदार, जाहिदुल इस्लाम र एमडि मिराजुल इस्लाम रहेका छन् ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको सुन फेला परेको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्