माध्यमिक तह तृतीय श्रेणीको विज्ञापन खुला



काठमाडौं, (नेस) ।

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । आयोगले पहिलोपटक अनलाइनमार्फत फारम भर्ने व्यवस्थासहित १५ विषयका लागि १ हजार ५ सय ४७ पदका लागि विज्ञापन खोलेको हो ।

आयोगले आज पुस १ गतेदेखि एक महिनाको अवधि तोकेर नियमित शुल्क र माघ ६ गतेसम्म अविलम्ब शुल्क बुझाएर परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको छ । यो विज्ञापनको चैत १५ गते परीक्षा हुनेछ । आयोगले जारी गरेको विज्ञापनअनुसार सबैभन्दा बढी विज्ञान विषयमा ४ सय ३५ शिक्षक माग गरिएको छ । प्रदेश नम्बर १ मा १ सय २८ जना विज्ञानका शिक्षकको माग छ । सबैभन्दा थोरै शिक्षा, संस्कृत साहित्य र न्यायमा एक–एक जनाका लागि मात्र विज्ञापन खोलिएको छ ।

आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिएको तथ्यांकका आधारमा आयोगले पहिलो चरणको विज्ञापन खोलेको हो । त्यसपछि निम्न माध्यमिक र प्राथमिक तहको पदपूर्ति विज्ञापन खोल्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्