नेपाल–भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेका छन् : रक्षामन्त्री सिंह



काठमाडौं ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले बुधबार नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको टिप्पणी गर्नुभएको छ । भारतको देहरादुनस्थित गुनियाल गाउँमा बनाउन लागिएको सैन्य धामको भूमिपूजाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

भारतीय समाचार एजेन्सीहरूका अनुसार मन्त्री सिंहले चीनको नाम नलिइकनै केही शक्ति भारत र नेपालबीचको सम्बन्ध बिगार्न लागिपरेको बताउनुभएको थियो । उहाँलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्– ‘सरकारी प्रतिनिधिको हैसियतले म तपाईंहरूलाई भन्न चाहन्छु, चाहे जेसुकै होस्, हामीले शिरै झुकाउन किन नपरोस् तर छिमेकी नेपालसँगको सम्बन्ध कहिल्यै टुट्न दिन्नौं, सम्बन्ध बिग्रिन कहिल्यै दिन्नौं ।’

उहाँले कार्यक्रममा तिब्बतको भने चर्चा गर्नुभएको थियो । अब मानसरोवर जानका लागि लिपुलेकको बाटो भएर पनि जान मिल्ने जिकिर गर्नुभएका सिंहले तिब्बतको सम्बन्धमा भने फरक धारणा व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यममा रक्षामन्त्री सिंहको भनाइलाई यसरी प्रस्तुत गरिएको छ– ‘तिब्बतसँग भारतको भावनात्मक सम्बन्ध छ तर आज स्थिति परिवर्तन भइसकेको छ ।’

जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका मोदी सरकारका तेस्रो वरीयताका मन्त्री सिंह नेपालप्रति नरम दृष्टिकोण राख्ने भारतीय नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्