मेगा बैंकको लाभांश पारित



काठमाडौं, (नेस) ।

मेगा बैंकको ११औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाटे १२ दशमलव शून्य ७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपियाँ ३८ पैसा लाभांश पारित गरेको हो ।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपियाँ ७६ पैसा बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौ बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशन अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं, अध्यक्ष शाहले भन्नुभयो ।

चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपियाँले बृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपियाँ पुगेको छ । यसैगरी, खुद कर्जा ८ अर्ब ५० करोड रुपियाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपियाँ पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्