७ सय १९ जना नेपालगन्ज हुँदै कहाँ गए ?



बाँके ।

नेपालगन्ज नाकामा मानव बेचविखन तथा ओसारपसारविरुद्ध काम गर्ने आधा दर्जन संघ–संस्था र प्रहरीका युनिट छन् । संघ–संस्था र प्रहरीले शंकास्पद महिला तथा बालबालिकालाई नाकामै रोकेर सोधपुछ गर्ने गर्दछ ।

यत्रो ठूलो छेकबारलाई नाघेर यो नाकाबाट वर्षेनी ठूलो संख्याका महिला तथा बालिका भारत तथा तेस्रो मुलुकमा पुगेर ‘सम्पर्कविहीन’ भएको पाइएको छ । कुनै न कुनै बहानाबाट नाका पार गरेका ७ सय १९ जना महिला तथा बालिका यो आर्थिक वर्षमा सम्पर्कविहीन भएका छन् । मानव बेचविखनविरुद्ध काम गर्ने नाकामा रहेका संघ–संस्था र प्रहरी कार्यालयमा खोजतलासका लागि परेको निवेदनको संख्या हो ७ सय १९ वटा ।

यो निवेदन दिने घर–परिवारकै सदस्य छन् । धेरैजसो आफूखुसी हिँडेको भए पनि सानो संख्याचाहिँ घरपरिवारकै सहमतिमा भारत तथा खाडी मुलुक पुगेको पाइन्छ । लामो समयसम्म आफ्नो मान्छे सम्पर्कमा नआएपछि उनीहरुले खोजतलासका संघ–संस्था र प्रहरीमा उजुरी दिने गर्दछन् ।

माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले चालू आर्थिक वर्षमा माइती नेपालमा ३ सय ६७, प्रहरी कार्यालयमा ३ सय ४८ र साना हातहरुमा चारवटा गरी ७ सय १९ वटा खोजतलासको निवेदन परेको जानकारी दिनुभयो । माइती नेपालमा परेको ३ सय ७६ वटा खोजतलासको निवेदनमा ७१ जना बाँके जिल्लाको रहेको छ ।

बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाको १५, कोहलपुरको २०, जानकीको २, राप्तीसोनारीको ६, बैजनाथ र खजुराको १३–१३ र डुडुवा गाउँपालिकाको २ वटा निवेदन रहेको छ ।
खोजतलासका लागि परेकोमध्ये ४७ जनाको भारत तथा खाडीमुलुकबाट उद्धार गरिएको छ । भारत तथा खाडीमुलुकबाट शक्ति समूहले २८ जना, माइती नेपालले १६ जना र आफन्त नेपालले ३ जनाको उद्धार गरेका छन् । उद्धार गरिएका ४७ जनामा बाँकेका नौ जना रहेका छन् ।

पछिल्लो दिनमा मानव बेचविखन तथा ओसारपसारको स्वरूप बदलिएको सम्बद्धहरु बताउँछन् । माइती नेपाल, नेपालगन्जका संयोजक कोइरालाका अनुसार वैदेशिक रोजगार र शैक्षिक, झूटो विवाह, मनोरञ्जन, मानव अंग बेचविखन, गर्भाशयको बेचविखन रहेको छ । गाउँघरमा पुगेर गरिब, अशिक्षिकलाई मात्रै होइन, दलालले शिक्षिक र उच्चघरानाका महिला तथा बालिकालाई पनि बेचविखन तथा ओसारपसार गरिरहेको मानव बेचविखनविरुद्ध काम गरेका संघ–संस्थाका प्रतिनिधिहरुको बुझाइ रहेको छ ।

विनरक इन्टरनेसनलको हाम्रो सम्मान परियोजनाका कमला पन्तले बाँकेका आठवटा स्थानीय तहमध्ये चार वटामा मानव बेचविखनविरुद्धको स्थानीय समिति र कार्यविधि तयार भएको जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा मानव बेचविखन तथा ओसारपसारविरुद्धको स्थानीय समिति र कार्यविधि बनेका छन् ।

मानव बेचविखन तथा ओसारपसारमा अभियुक्तलाई कारबाही गराउन अति नै गाह्रो हुने गरेको छ । पीडितले अन्तिममा बयान फेरिदिने ठूलो समस्या रहेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले प्रहरी र वकिलले राम्रो अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढे पनि अन्तिममा पीडितले नै बयान फेरिदिने बताउनुभयो । डीएसपी न्यौपानेले स्कुल–स्कुलमा र सवारी चालकलाई मानव बेचविखनविरुद्धको कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्