जनता ठग्ने दलाललाई कसले कारबाही गर्ने ?

0
Shares

नेपाल सरकारअन्तर्गत रहेको सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागले बैंकफाइनेन्सले अचल सम्पत्तिमा कर्जा लगानी गर्दा १४ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने नियम बनाएको छ । त्यस्तै, एक प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाउने भनेर स्पष्ट रुपमा भनिएको छ ।

शेयरमा लगानी गर्नेलाई पनि बढी शेयर भिडाउन नपाउने भनिएको छ । तर, बजारमा वित्तीय संस्थाहरूले बीस प्रतिशतसम्म कर्जा लिइरहेको पाइएको छ । यता, एक प्रतिशत सेवाशुल्क भनिए पनि तीन प्रतिशत लिइएको छ । एक करोड कर्जा लिन खोज्नेले तीन लाख रुपियाँ सेवाशुल्क बुझाउनुपर्ने बाध्यता छ । एक करोडको अचल सम्पत्ति बैंक फाइनान्सको नाममा पास गरेर रोक्का गर्दा जम्मा तीस लाख रुपियाँ पाइन्छ । त्यही तीस लाख पाएको बापत पनि ९० हजार त सेवाशुल्क नै तिर्नुपर्छ ।

शेयर खरिद गरेको रकम पनि तिर्नैपप्यो । बैंकफाइनान्सले जबरजस्ती दश हजारको शेयर भिडाउँछन् । तीस लाख रुपियाँ कर्जा लिनको लागि बैकफाइनेन्सको अध्यक्ष, चेयरम्यानलाई पनि घुस दिनैपप्यो । अनि तीस लाखमा अर्को बीस प्रतिशत त व्याज नै जोडिन्छ । ऋणीले आफ्नो सम्पत्ति धितो राखेर ऋण लिएकै दिनबाट व्याज र किस्ता तिर्ने अवधिको सुरुआत हुन्छ । कर्जा खाने मान्छेसँग दिनगन्तीको आधारमा व्याज, साहु नै उठाउँछ । तर, बैंकफाइनान्समा लगेर पैसा राख्नेले चाहिँ किन महिनाअघि व्याज पाउँदैनन् ?
हामीले डिपोजिट राख्दाचाहिँ महिना कुर्नैपर्ने, अनि बैंकफाइनेन्सको एकदिन पनि ढिला हुन नमिल्ने ? अहिले जनताले बैंकफाइनेन्समा लगेर मुद्दतिमा पैसा राख्दा बढीमा नौ प्रतिशतसम्म व्याज पाउछन् । कतिको त ६।७ प्रतशतमै व्याज सीमित छ ।

कर्जा लिनेले आफ्नो अचल सम्पत्ति धितो राखेर पनि कत्रो प्रक्रिया पूरा गर्नुपर्छ । बैंकफाइनेन्सले कर्मचारी राखेर दैनिकी पैसा उठाइराखेको छ । पैसा राख्नेले महिनाको तीन प्रतिशतसम्म मात्र व्याज पाइरहेको छन् त्यो पनि महिना सिद्धिएपछि । महिना नसिद्धिईकन व्याज हिसाब गर्ने चल्ती बैंकफाइनान्सको छैन । पहिला खाता निःशुल्क खोल्छ । खाता बन्द गर्ने बेलामा चाहिँ तीन सयसम्म पैसा काट्छन् । दिनभरि कर्मचारी लगाएर पैसा उठाउने साँझ जनताको घरजग्गा मँहगो सेवाशुल्क र व्याजमा त्यही पैसा कर्जामा लगानी गर्छ ।
पहिलेपहिले गाँउघरमा साहुहरूले ३६ प्रतिशतमा ऋण दिन्थे । मासिक तिन हजार व्याज खोज्थे, घुसस्वरूप घिउ खान्थे । तर, धितो र सेवाशुल्क चाहिँ उनीहरूलाई चाहिदैन थियो । ढिला भयो भने बैंकफाइनान्सले लिने गरेका पेनाल्टी पनि उनीहरूले कहिल्यै खोजेनन् ।

बैंकफाइनान्सले धितो, सेवाशुल्क, घुस, पेनाल्टी सबै लिएर पनि जनताको घरखेत खाइदिने दाउपेच गरिरहेको हुन्छन् । दुई किस्ता साहुव्याज चुक्ता गर्न सकेन् भने पत्रिकामा निकालेर बैंकफाइनान्सले सबै हत्याउँछन् । यिनीहरू त पहिलाका साहुहरूभन्दा पनि खतरनाक छन् । जसले बैंकफाइनान्सबाट कर्जा लिन्छ उसलाई ३६ प्रतिशतभन्दा पनि मँहगो परेको छ । धितो, पेनाल्टी, सेवाशुल्क, घुस र शेयर हिसाब गर्दा कर्जा लिने झनै मारमा परिरहेका छन् । जे भए पनि व्यक्तिले धितो नलिइकन व्याजको भरमा कर्जा दिन्छ ।
बैंकफाइनान्सले त कर्जा लिएभन्दा बढीको धितो खोज्छ । व्याज पनि तिर्नैपरेको छ । व्याज तिर्न सकेन भने व्यक्तिले व्याज छोडिदिन्छ । तर, बैंकफाइनान्सले व्याज र साहुमा पेनाल्टी हान्दै पाँच वर्षमा बीस लाखको ६० लाख पुप्याइदिन्छ ।

घरजग्गा गाडी हत्याउने बैंकफाइनान्सको रणनीति हो यो । वित्तीय क्षेत्र भनेको लुट र दलालहरूले चलाएको क्षेत्र हो । अकालमा बैंकमा खाता खोल्ने मान्छे मप्यो र उसको आफन्तलाई पत्तो छैन भने बैंकफाइनान्सले त्यो पैसा पचाउँछ । आफूले दिनपर्ने ठाउँमा बैंकफाइनान्सले मतलब गर्दैन तर उसले लिनपर्नेलाई दबाब दिएर, धम्काएर जसरी पनि निकाल्छ । एकदिन मात्र कर्जातिर्न ढिलो भयो भने फोन गरेर धम्काएको धम्काएकै गर्छन् । नेपालमा बैंकफाइनान्स च्याउ उम्रे जसरी उम्रेका छन् ।

धितो राख्नेसँग मँहगो व्याज लिएर सडकमा पुप्याउने । वित्तीय संस्थाको पोलेसी भनेकै ठग पोलेसी हो । बैंकफाइनान्सको कारणले कतिले आत्महत्या गरेका छन् । धितो राखेर कर्जा लिँदा पनि यिनीहरूको दबाबमा बस्नपर्ने । यिनीहरूले गर्दा कति सर्वसाधारण आफ्नो गाँउठाँउ छोडेर भाग्नपरेको छ । कतिले समाजमा मुख देखाउन सकेको छैनन् । कर्जा लिनलाई सिद्धयाउन बैंकफाइनेन्सले अनेक पोलेसीहरू अप्नाउँछन् । वित्तीय संस्थाका चेयरम्यान, अध्यक्षले बीस हजारको पनि घुस खान्छन् । एउटा गरिब साग बेचेर गुजारा गर्नेसँग पनि घुस खान्छन् । अझ बीस हजार ऋणको लागि पनि तीन जना सोही सहकारीमा खाता भएका जमानीकर्ता बस्नुपर्ने । धितो, शेयर, घरगाडि हुनेलाई मात्र बैंकफाइनान्स खोलेको हो ?
सम्पत्ति हुनेलाई मात्र कर्जा दिन बैंकफाइनान्स बनाएको हो ? त्यसो भए गरिब जनताको पैसा लगेर किन राख्ने ? बैंकफाइनान्सका अध्यक्षदेखि लिएर कर्मचारी सबै शोषक, सामन्ती र दलाल हुन् । बैंकफाइनान्सबाट कर्जा लिएर व्यापार व्यवसाय गरेर म धनी भए भन्ने मान्छे एउटा पाउन पनि मुश्किल छ ।

यिनीहरूले जति घुस खाए पनि, अवैध तरिकाले सम्पत्ति जोडे पनि, भ्रष्ट्राचार गरे पनि मातहतका निकायले कारबाही गर्न सकेको छैन । घुसमा डुबेको क्षेत्र वित्तीय क्षेत्र हो । मेरो राम्रो घरखेत छ भने पनि घुस नदिई कर्जा पाइदैन । मँहगो व्याजमा कर्जा दिँदाखेरि बजारमा मँहगी पनि उच्च भएको छ । व्यापारीले मँहगो कर्जामा ऋण पाएपछि उसले सामान पनि मँहगैमा बेच्नुपर्ने बाध्यता छ । बैंकफाइनान्सको कारणले ऋणी त मारमा परेकै छन् त्योसगै अरू सामान्य जीवनस्तरका जनतालाई समेत यिनीहरूले मँहगीको मारमा पारेका छन् ।
हरेक सामानको मुल्य अचाक्ली तवरले बढेपछि अब भोकभोकै हिड्नपर्ने दिनहरुको सिर्जना भएको छ । बेरोजगार, साधारण काम गरेर बिहान बेलुका छाक टार्नेहरूले पेटमा पटुका बाधेर हिड्नपर्ने भएको छ । व्यवसायी गर्ने क्षमता भएका, पढेका लेखेकाहरूले हत्तपत्त घुस पाउदैनन् ।

पढाइ लेखाइ नभएका तर धितो भएकाहरूले कर्जा पाउँछन् । किनकि उनीहरूलाई वित्तीय संस्थाको चलाखीबारे ज्ञान हुँदैन । पछि बैंक फाइनान्सले आफ्नो सम्पत्ति लिलाम गरेपछि मात्र उनीहरुले पत्तो पाउछन् । बजारमा अहिले घरजग्गाको मुल्य दिनमा दुई गुणा र रातमा चौगुणाले बढेको छ । यो सब बैंकफाइनान्सको कारणले गर्दा हो । बैंकफाइनान्स आफैंले पनि जग्गा दलाली गर्दै हिडेका छन् । अर्कोतर्फ मँहगो व्याजमा कर्जा लिएर घरजग्गा, गाडी किन्ने गर्दा पनि यी चीजहरूको मूल्य ह्वात्तै बढेको हो । घुस प्रथाले गर्दा बजारमा मँहगी बढेको हो । मँहगीको प्रमुख कारक बैंकफाइनान्स नै हुन् । कर्जा तिर्न नसकेकाहरूको सम्पत्ति लिलाम गर्ने टेन्डर आह्वान गर्दै आफ्नो आफन्तलाई बेच्छ र त्यहाँबाट पनि कमिसन खान्छ ।

बैंकफाइनान्सले गुण्डा पनि पालेको हुन्छन् । कर्जा तिर्न नसक्नेको नाममा पत्रिकामा विज्ञापन निकाल्छ । त्यो विज्ञापनको पैसा पनि त्यही कर्जा खानेको टाउको थुपार्छ । बैंकफाइनान्सले जनता ठग्दा पनि नेपाल राष्ट्र बैंक, सहकारी मन्त्रालय र विभाग के हेरेर बसिरहेको छ ? यहाँ पनि कमिसनको चलखेल भएकाले सबै मौन बसेका त होइनन् ? भन्ने प्रश्न जनताको मनमा उब्जिएको छ । गरिबहरूलाई मँहगीको सास फेर्नसमेत हम्मेहम्मे परेको छ । यी दलालहरूको मात्र सरकार हो ? बैंकफाइनान्स, सहकारीले ठग्यो भने कहाँ गएर उजुरी गर्ने ? बैंकफाइनेन्सको अगाडि सरकार लम्पसार परेको छ ।

– सुनाम वैद्य, काठमाडौं ।